‘शिर उँचो राख नेपाल’ : कमेन्टेटर हर्षा भोग्ले
काठमाडौँ। टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पीडादायक हार बेहोरे पनि क्रिकेट समुदायमा नेपालको प्रशंसा भइरहेको छ। विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्षा भोग्लेले नेपाली क्रिकेट टोलीलाई शिर उँचो राख्न सुझाएका छन्।
शनिबारको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित भयो। जितका लागि ११६ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो। यदि आजको खेल जितेको भए, टेस्ट खेल्ने राष्ट्रविरुद्ध नेपालको यो पहिलो जित हुने थियो।
हर्षा भोग्लेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शिर उँचो राख नेपाल। तपाईंहरूले दक्षिण अफ्रिकालाई झन्डै हराउनुभयो। तपाईंहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक म पनि हुँ, तपाईंहरूले हामीलाई विश्वास दिलाउनुभएको छ। आशा छ, छिट्टै ठुला दिनहरू आउनेछन्।’




