र्कीतिपुर क्रिकेट मैदानको श्रेयकर्ता प्रचण्ड

छिरिङ ल्हामु लामा

आजदेखि नेपाली क्रिकेटको महासंग्राम सुरू भएको छ । नेपाली क्रीकेटप्रेमीहरूको प्रतिक्षाको घडी सकिएको छ । मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म काठमाडौँको र्कीतिपुरस्थित टियू क्रीकेट मैदान व्यस्त रहनेछ । हिजो आइतबार शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निर्मित प्याराफिट र फ्लडलाइट राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिसकिएको छ । विकास, समृद्धि, सुशासन, रोजगारी र उत्पादन जस्ता महत्वपूर्ण कामहरू सम्पन्न हुँदा वित्तिकै श्रेय लिने होड चल्नु अन्यथाको विषय रहेन । यसअघिका दिनमा पनि हामीले यस्ता श्रेय लिने अस्वस्थकर होडबाजी नदेखेका पनि होइनौं । तर, तत्थ्य र प्रमाणले पुष्टि गर्ने खालका सत्यलाई मात्रै आम स्वीकार्यताको विषय बनाउनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । आज सामाजिक सञ्जालमा एकपक्षीय रूपमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गरिएको देखियो । यो कताकता ‘काम गर्ने कालु, मैक खाने भालु’ भन्ने युक्ति संम्मत काम भएको जस्तो लाग्यो । राम्रा कामको जस लिने र नराम्रा कामको जिम्मेवारीसमेत नलिने नेताहरूको पहिलो सूचिमा केपी ओली पर्नुहुन्छ भन्दा अन्यथा नहोला । यसमा एमालेजनको हात थप छदैछ ।

प्रचण्डको त्यो निर्णय र निर्देशन

व्यक्ति वा समूहले जुनसुकै दाबी र महिमागान गाएपनि तथ्य र प्रमाणले सत्यको मानव स्थापित गर्छ । तथ्य र प्रमाणसामु व्यक्तिका दाबीहरू फगत हुन पुग्छन् । क्रीकेट मैदानको वर्तमान अवस्था र केपी ओलीको बख्यान कति सत्य हो ? कति भ्रम हो भन्ने बारेमा केही सन्दर्भ उल्लेख गर्नैपर्ने देखियो । संघीय गणतन्त्र नेपालको नेताका रूपमा स्थापित नाम हो प्रचण्ड । प्रचण्ड मुलुकको प्रधानमन्त्री बन्दा केही राम्रा र महत्वपूर्ण कामहरू भएका छन् । भलै ती काम र उपलब्धिहरूका बारेमा हामीले जनतालाई जानकारी गराउनु÷पुर्याउन सकेका छैनौं । नेपाली जनता प्रचण्ड नेतृत्वको आन्दोलन र राज्य सत्ताको नेतृत्वमा रहँदा गरेका काम कारबाहीका बारेमा जानकार छन् भन्ने हाम्रो बुझाइ छ । जनताको जानकारीलाई सम्मान गर्दै टियु क्रिकेट मैदानका बारेमा केही महत्वपूर्ण प्रसँग र सन्दर्भका बारेमा स्मरण गर्न आवश्यक भने अवश्य ठानिएको छ ।
२०२४ को विश्वकप क्वालिफायर खेल कीर्तिपुर मैदानमा भएको थियो । युएइलाई पराजीत गर्दै महत्वपूर्ण सफलता हात पारेको उक्त दिनमा तत्कालिन प्रधानमन्त्री प्रचण्ड मैदानमा पुग्नु भएको थियो । धुलो माटोमा मात्रै होइन, वरिपरीका रूखमा बसेरसमेत क्रीकेट हेर्नेको संख्या उत्तिकै थियो । उक्त दिन प्रचण्ड विरुद्ध केही नाराबाजी समेत भएको थियो । त्यसलगत्तै २०७९ चैत ३ गते क्वालिफायर बनेको नेपाली क्रीकेट टोलीलाई बधाई दिन बालुवाटार बोलाएर प्रचण्डले राष्ट्रिय खेलकुद परिषद र क्यानका पदाधिकारीलाई तत्काल गर्न सकिने कामहरू (फ्लडलाइट र स्कोरबोर्ड) गर्न निर्देशन दिनुभएको थियो । त्यसपछि २०८०-२०८१ को बजेटमा अर्थमन्त्री रामसरण महतलाई फ्लडलाइट र प्याराफिट निर्माण कार्य समेट्न निर्देशन दिनुभएको थियो । प्याराफिटतर्फ १६.२ कारेड र फ्लडलाइटतर्फ १७.३ करोड बजेट विनियोजन गर्ने काम भएको थियो । यसरी क्रीकेट मैदानलाई राष्ट्रिय गौरवको योजनाको रुपमा सुरूवात प्रचण्डले गरेको देखिन्छ । यति मात्रै होइन, प्रचण्डले २०८० को मंसिरमै कीर्तिपुरसँगै मुलपानी र चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेट्नु भएको थियो । यसरी विभिन्न समयमा बजेट विनियोजन गर्ने र योजनालाई मुर्तरूप दिने काममा प्रचण्ड नेतृत्वको सरकार सक्रिय रहेको थियो । २०८१ को पहिलो नेपाल प्रिमिअर लिग प्रचण्डकै पालामा सम्पन्न भएको हो । २०८१ जेठ असारमा दोस्रो चरणका काम गर्नका निम्ति अनुमानित १० अर्ब बजेट विनियोन गर्ने काम प्रचण्डले गर्नुभयो ।

बिडम्बना भनौं नेपालको अस्थिर राजनीतिका कारण प्रचण्डले २०८१ जेठ ३१ गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो । प्रचण्डको राजीनामापछि केपी ओली प्रधानमन्त्री बन्नुभयो । उहाँले ३०० दिनको म्याद लिएर र्कीतिपुर क्रीकेट मैदानलाई निर्माण गर्न निर्देशन दिनुभयो । तर, ३०० दिन केटेर पनि निक्कै अबेर अर्थात २०८२ कात्तिकको अन्तिम दिनमात्र निश्चित पूर्वाधार तयार गरिएको छ । घेरबार, विद्युतबाट फ्लडलाइट जलाउने जस्ता धेरै कामहरू अँझै बाँकी छन् ।

अर्को याद गर्नुपर्ने कुरा, प्रचण्डले सत्तामा रहेको बेला उक्त मैदानलाई राष्ट्रिय गौरवको योजनाका रूपमा मात्रै अघि सार्नु भएन, सत्ता बाहिर हुँदा पनि निरन्तर चासो र चिन्ता प्रकट गरिरहनु भयो । २०८२ असार ३० गते संसदमा उभिएर प्रचण्डले भन्नुभएको थियो, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ । त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माणको बाँकी कामलाई सम्पन्न गर्ने घोषणा गर्नुभयो । तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन सकेन । सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठ्यो । जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?’ यसरी प्रचण्डले सरकारभन्दा बाहिर हुँदा पनि टियु क्रिकेट मैदान निर्माण कार्यलाई प्राथमिकता दिइरहनु भएका तथ्य छन् ।

ढिलासुस्ती र विभिन्न चलखेलका कारण अनुमानित भन्दा धेरै राज्यको लगानी उक्त मैदानमा भएको देखिन्छ । यसको अपजस र जिम्मा केपी ओलीले नलिने तर, निक्कै अघि नै निर्माण कार्य सम्पन्न हुनुपर्ने रंगशालाको सम्पूर्ण जस आफूले लिने कुरा जायज भन्न सकिदैन ।

मेरो आग्रह छ, माथि उल्लेख गरिएका सत्यलाई नजरअन्दाजर गरेर ओलीकै कारण बनेको हो भनेर काखी च्यापेर किन दौडिनुहुन्छ ? ओलीमाथि मेरा केही संगिन प्रश्न पनि छन् । यसरी राम्रा कामको जस लिन नाराबाजी गर्ने र नराम्रा कामको जिम्मा अरुलाई दिने काम राजनीतिक व्यक्तिबाट हुन सक्दैन । गत भाद्र २३ र २४ गतेको जिम्मेवारी किन नलिने ? उक्त दुःखद घटनामा तत्कालिन प्रधानमन्त्री ओली पन्छिन मिल्छ ? यही हो लोकतान्त्रिक जवाफदेहिताको मूल सिद्धान्त ? शक्तिमा रहेको नेतृत्वले आफ्नो कार्यकालमा भएका सबै कामहरूको जिम्मेवारी लिनुपर्छ । राम्रा कामको श्रेय मात्र लिने, तर जिम्मेवारीबाट भाग्ने कुरा कदापी राम्रो हुनसक्दैन । यसरी राम्रा काममा आफूलाई उभ्याउने र अपजसको जिम्मेवारी नलिने कुरा बरबर कायरताको प्रमाण हो ।

अब सोही प्रचण्डको सपना गुरु योजनामा परिणत भएको छ । 

त्यसैले २३ गतेको गोलीकाण्डको राजनीतिक तथा नैतिक जिम्मेवारी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ । टियु क्रिकेट मैदानको श्रेय सुरुवात कर्ता प्रचण्डलाई दिनुपर्छ । क्रीकेटप्रतिको युवाहरूको उर्जा देखेर सुविधायुक्त क्रिकेट मैदान निर्माण गर्ने वास्तविक परिकल्पना पहिलो पटक नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले नै गर्नुभएको हो । यसको अवधारणा बनाउने, बजेट छुट्याउने, नीतिगत निर्णय गर्ने र समग्र प्रक्रिया सुरू गराउने यी सबै आधारभूत कामहरू प्रचण्डकै कार्यकालमै सम्पन्न भइसकेका थिए । त्यसपछि केपी ओलीले गर्नुभएको भनेको पहिले नै तयार गतिमार्गमा रहेको प्रक्रियागत निरन्तरतामा हस्ताक्षर मात्र हो । यो कुनै नेतृत्वगत योगदान होइन । ओलीभन्दा सरकारी संयन्त्रले नै बढी काम गरेका हुन् । ओलीको ठाउँमा जो आए पनि ठीक यही कदम स्वचालित रूपमा अघि बढ्थ्यो ।अन्त्यमा, ओली र एमाले जनलाई मेरो विनम्र आग्रह छ । गत भाद्र २३ गतेको नरसंहारको राजनीतिक र नैतिक जिम्मा लिइदिनुहोस् । कम्तिमा अनाहकमा मरेका मान्छेहरूको मृत्युमा रमाउने काम नगर्नुहोस् । राम्रोलाई राम्रो भन्नु सक्नुहोस् । सत्यलाई सत्य भन्नुहोस् ।

 


ताजा समाचार