किन चर्को सुनिदैछन् ओली ?
मुकुन्द कालिकोटे
काठमाडौँ । सर्वोच्च अदालतकी पूर्वप्रधानान्याधीश सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने प्राविधिक तयारीलाई तीव्र पारिरहेको छ । गत भाद्र २३ र २४ गतेको जेनजी विद्रोहबाट सत्ताच्यूत बनेका एमाले अध्यक्ष केपी ओलीका पछिल्ला अभिव्यक्तिहरूले निर्वाचन हुनेमा केही संशय उत्पन्न गराएका छन् ।
सरकार प्रमुख कार्की कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डको ‘अनुहार हेर्न नपरे हुन्थयो’ भन्ने खालको अभिव्यक्ति दिएको धेरै समय भएको छैन । कात्तिक १४ गते सम्पादकहरूसँगको छलफलमा सरकारी निवास बालुवाटारमा सरकार प्रमुख कार्कीले उक्त अभिव्यक्ति दिएपछि राजनीति दल र सरकारबीच थप दुरी बढेको राजनीतिक विश्लेषण भइरहेका छन् ।
सत्ताबाट लखेटिएका ओली नेतृत्वको एमाले पार्टीले कार्की नेतृत्वको सरकारले चुनाव नगराउने भन्दै संसद पुनःस्थापनाको माग लिएर सडक प्रदर्शन गरिहेको छ । साथै अन्य कार्यक्रममा पनि ओली वर्तमान सरकारप्रति चर्को सुनिन थालेका छन् । गत आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले कार्की नेतृत्वका सरकार अधिनायवादतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका थिए । सरकारका कमजोरी पक्षलाई समातेर ओलीले चर्को आवाजमा आलोचना गर्न सुरू गरेका छन् । साथै उनले अन्तर्राष्ट्रिय अवस्थालाई समेत उल्लेख गर्दै सरकारमाथि खनिने थालेका छन् ।
अध्यक्ष ओलीले बङ्गलादेश र म्यानमारमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेस गर्दै नेपालमा पनि सोही त्यही सिलसिला दोर्होयाउन खोजिएको जिकिर गरेका हुन् । उनले मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरू लागि परेको समेत बताए ।
उनले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ । त्यहाँ यति समयमा चुनाव गराउने भनेर घोषणा हुन्छ । विभिन्न देशमा हामीले यो देखेका छौँ । म्यानमारमा हामीले देख्यौँ । त्यहाँ पनि फलानो मितिमा चुनाव गराउने भनियो । ६ वर्ष भयो त्यो मिति सरेको सर्यै छ । बङ्गलादेशमा ६ महिनाभित्र चुनाव गरिसक्ने भन्ने कुरा भयो । डेढ वर्ष स¥यो । अब चुनाव नगराउने कुरा अब आउँदो फेब्रुअरीमा पनि चुनाव नहुने देखिन्छ । त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोर्होयाउन खोजिएको छ । देशलाई द्वन्द्वतर्फ, तनावतर्फ पारस्पारिक द्वेष र घृणातर्फ फर्काउन खोजिएको छ । यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति हो । यस परिस्थितिलाई निरन्तर रहन दिनु हुँदैन । लामो समय चल्न दिनु हुँदैन ।’ अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको समेत दोहो¥याए ।




