सम्पादकीय: खेलाडीहरूको भविष्यप्रति सचेत बन
मुलुक यतिबेला अस्थिर राजनीतिका कारण करिब अस्तव्यस्त बनिरहेको छ । साथै निराशाको कालो बादलमुनि बसिरहेको छ । कतिबेला के हुन्छ ? भन्ने अत्यास र अनिश्चितताको बिचबाट मुलुक अघि बढिरहेको बेला नेपालको खेलकुद क्षेत्रले भने केही नयाँ आशा दिन खोजिरहेको देखिन्छ । खासगरी नेपाली क्रिकेट, महिला फुटबल र भलिबल (पुरुष÷महिला) टोलीले केही नयाँ आशा देखाएको छ । खासगरी नेपाली क्रिकेट पुरुष टिम विश्वकप छनोट हुँदा नेपाली जनमास खुसी बनेको छ । त्यसअघि वेस्टइन्डीजलाई पराजित गरेर इतिहास रचेको थियो । वेस्टइन्डीजसँगको टी—२० श्रङ्खला जितेर इतिहास रचेको नेपाली क्रिकेट टिमले हालै युएइमा सम्पम्म आइसीसी विश्वकप लिग—२ मा भने सोचेअनुसार सफलता हात पार्न सकेन ।
यूएइ, युएसएसँग भएका चार वटै खेलमा नेपाल पराजित बनेको छ । यो श्रृङ्खलामा रित्तो हात फर्किएपनि नेपाली क्रिकेटमाथि धेरै प्रश्न उठाउने ठाउँ छैनन् । यसअर्थ निराश बनिरहेका जनतालाई नयाँ आशावादको दिशा दिने काम खेलाडीहरूले गरिरहेका छन् । नेपाललाई विश्वसामू चिनाउने काम गरिरहेका छन् । यसअर्थ खेलाडीहरू राज्यका महत्वपूर्ण सम्पत्ति हुन् भन्ने कुरा आम स्वीकार्यताको विषय बन्नुपर्छ । जसरी र जुन तवरले खेलाडीहरूले दुुःख, संघर्ष र मेहनत गरेर देशलाई सकारात्मक सन्देश दिन सफल छन् । तर, राज्यले भने हाम्रा खेलाडीहरूको भविष्यप्रति चिन्ता गरेको जस्तो अनूभूति गर्न सकिने अवस्था छैन । राज्य जिम्मेवार देखिदैन । हालै भारतमा सम्पन्न फुटबल खेलको बारेमा आएको समाचारले पनि यो कुरालाई बल पु¥याउछ । आधारभूत आवश्यकतालाई समेत ध्यान नदिएर खेलाडीहरूलाई मैदानमा उतार्ने काम दुःखद र खेदजनक छ । क्यान, एन्फा जस्ता राज्यका अंगहरूमा भइरहेको राजनीतिले खेलाडीहरूको भविष्य अन्यौल र वर्वाद बनिरहेको छ । न त राज्यले ठूलो लगानी गर्न सकेको छ, न त खेलाडीहरूलाई उचित सेवा सुविधा दिन नै सकिरहेको छ ।
यता नेपाली फुटबलको गति भने बिर्सिन लायक छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुण्ड्याएका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् । खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन् । ‘अब यो मेडल एन्फाले आफै आएर लाओस् । हामीले यही छाडेर जान्छौं,’ लामाले भनेका छन् । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ । एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ । यसरी खेलाडीहरूको भविष्य र आधारभूत अधिकारलाई सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्छ । खेलाडीहरू उत्पादन गर्ने एकमात्रै प्रतियोगिता हो । यस्ता महत्वपूर्ण प्रतियोगिता स्थगित गर्दा खेलाडिहरूको जीवन र मुलुकको खेल क्षेत्रमाथि कति असर पर्छ ? भन्ने कुरा राज्यले गम्भीरताका साथ दिनुपर्छ ।




