झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
झापा। कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ। जिल्लामा सञ्चालित विभिन्न कृषि प्रवर्द्धनात्मक कार्यक्रमहरूले सकारात्मक प्रतिफल दिएका छन्।
चालु आर्थिक वर्षमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जिल्लाका १४ वटा स्थानीय तहलाई ९ करोड ५ लाख र कृषि ज्ञान केन्द्रमार्फत १ करोड ४८ लाख अनुदान उपलब्ध गराएको जानकारी जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले दिएका छन्।
कोशी प्रदेश सरकारले प्रदान गरेको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई प्राथमिकता दिइएको छ। जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि ३ करोड ४० लाख र ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि ३ करोड अनुदान दिइएको प्रमुख विष्टले बताए।
जिल्लाका तीनवटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि ६० लाख उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्रांगारिक मल उत्पादन पूर्वाधार निर्माणका लागि ३० लाख र तरकारी संकलन केन्द्र निर्माणका लागि २० लाख स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराइएको छ। कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई एक-एक लाख अनुदान दिइएको छ।
सुपारी प्रशोधन उद्योग पूर्वाधार यन्त्र उपकरण सहयोगअन्तर्गत सातवटा उद्योगलाई ४० लाख, जैविक विषादी उत्पादनका लागि एउटा कृषि सहकारी र फार्मलाई ७५-७५ हजार, जुटखेती प्रवर्द्धनका लागि छ जना किसानलाई ५ लाख, गड्यौँला मल तथा प्राङ्गारिक मल उत्पादनका लागि ५ लाख, मागमा आधारित कार्यक्रमका लागि १२ लाख ५० हजार र केराखेतीका लागि ढुवानी साधनमा सहयोगका लागि १५ लाख अनुदान उपलब्ध गराइएको छ।
कृषि प्रवर्द्धन कार्यक्रमले जिल्लामा मकै र धान उत्पादनमा पनि वृद्धि भएको छ। मकैको उत्पादकत्व ५ मेट्रिक टन प्रतिहेक्टरबाट ७ मेट्रिक टनमा पुगेको छ भने धानको उत्पादकत्व ४.५ मेट्रिक टनबाट ५.५ मेट्रिक टन प्रतिहेक्टर पुगेको प्रमुख विष्टले बताए।




