‘स्थानीय अवरोध विकासको बाधक’
फुर्पा शेर्पा, समाजसेवी
समाजसेवी फुर्पा शेर्पा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ को स्थानीय विकासको पहलकर्ता हुन् । उनले सानैदेखि समाजमा रहेको विकृतिको अन्त्य र विकासको काममा आफूलाई सक्रिय बनाउदै आएका थिए । उनै शेर्पासँग गरिएको कुराकानिमा आधारित सामग्री:
स्थानीय विकास र समृद्धिको निम्ति सायदै मान्छेहरू तन, मन र धन लगाएर आफूलाई समर्पित गरिहेका हुन्छन् । समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मान्यता राख्ने व्यक्तिहरूले स्थानीय विकास, समृद्धि, शिक्षा, स्वास्थ्य र साँस्कृतिक पक्षका कामहरू गरिरहेका हुन्छन् । यसरी स्थानीय विकास र समृद्धिका क्षेत्रमा आफूलाई क्रियाशील बनाइ राखेका युवा समाजसेवी हुन् फुर्पा शेर्पा । सिन्धुपाल्चोक भोटकोशी गाउँपालिका वडा नम्बर ४ का स्थानीय शेर्पा सानैदेखि समाजको अगुवाका रूपमा आफूलाई स्थिापित गर्नेमा व्यस्त बनेको सुनाउछन् । वि.स. २०३६ सालमा जन्मिएका शेर्पा हाल काठमाडौँको बौद्धमा बस्छन् ।
२०६२ देखि समाजसेवामा
फुर्पा शेर्पा २०६२ सालदेखि आफू समाजसेवामा सक्रिय रहँदै आएको बताउछन् । उनी भन्छन्, ‘हाम्रो समाज, गाउँठाउँ त्यो बेला निक्कै विकट र गरिबीले थिचिएको थियो । विकास थिएन । शिक्षा, स्वास्थ्यको पहुँच थिएन । सकेको केही गरौं भन्ने उद्देश्यले हामीले हाम्रो गाउँमा तत्कालिन समयमा मोटरबाटो खनेका थियौं । १२ किलोमिटर जति मोटरबाटो खोलेका थियौं । बिडम्बना भन्नुपर्छ अझैँसम्म त्यो बाटोलाई कालोपत्रे गर्न सकिएको छैन ।’
२०६२ को पुसमा खनिएको बाटो अझैँसम्म पनि कालोपत्रे नहुको कारण पनि शेर्पाले भनेका छन् । शेर्पाका अनुसार उक्त बाटो जग्गाको विवादका कारण अहिलेसम्म कालोपत्रे गर्न नसकिएको हो । शेर्पाले भन्छन्, ‘समाजसेवा जस्तो सजिलो काम केही होइन जस्तो लाग्छ । तर, समाजमा केही गरौं भन्ने मान्छेको अगाडि पछाडी कोही हुँदैनन् । राम्रो सोच र राम्रो विचारका आधारमा काम गर्दा बिचमा विभिन्न अवरोधहरू आउँछन् । जसका कारण स्थानीय विकासलाई अघि बढ्न दिदैनन् । बाह्रबिसेदेखि गाउँमा मोटर जानका निम्ति खोलिएको उक्त बाटो पहिलो नै होला । तर, आजसम्म अन्त कति धेरै विकास भइसकेको छ । हाम्रो बाटो उस्ताको उस्तै छ । गाउँलेहरू मिलेर खोलेको बाटो जम्मा एकजनाका कारण त्यो बाटोको नाममा वर्षेनी बजेट फ्रिजहुने काम भइरहेको छ ।’
शेर्पा अगाडि भन्छन्, ‘हाम्रो अगुवाइ र गाउँलेहरूको साथ सहयोगमा निर्माण गरिएको उक्त बाटो अवरुद्ध भएपछि हामीले २०७४ मा वैकल्पिक बाटोको माग गरेका थियौं । त्यो बाटो निक्कै भीरपाखा हुँदै जानुपर्ने अवस्थाको निर्माण गरिएको छ । बर्खामा हिड्न मिल्दैन । हिउँदमा हिड्न मिल्छ ।’
शेर्पालगायत गाउँका सचेत युवाहरूको अगुवाइमा भोटेकोशी गाउँपालिकामा धेरै कामहरू भएका छन् । विद्युतका पोल गाड्नेदेखि ट्रान्समिटर स्थापना गर्नेसम्मका कामहरू गरेको शेर्पाले बताए । उनी भन्छ्न, ‘गाउँको बाटो पिच गर्ने ठूलो सपना छ । गाउँमा शिक्षा, स्वास्थ्य, विजुली, बाटो भयो भने धेरै सुविधा हुन्छ । केही मानिसहरूको व्यक्तिगत स्वार्थका कारण स्थानीय विकास अधुरो हुन्छ । समाज सचेत र कर्तव्यवान भएन भने स्थानीय विकास सम्भव छैन । सानोसानो विषयलाई लिएर विकासका कामहरू अवरोध भइरहेका हुन्छन् । बाहिर विकास र समृद्धि किन भएन त भनिन्छ । तर, समाजका हरेक व्यक्ति र परिवारसँग विकासको विषय जोडिएको हुन्छ । विकास निकासका काममा स्थानीयको अवरोध भएन भने सहज र सहि समयमा विकासका कामहरू पुरा हुन्छन् ।’
भूकम्पमा स्थानीयको सारथी
भारतीय आर्थिक नाकाबन्दीबाट मुलुक थिलथिलो बनिरहेको थियो । त्यही समयमा २०७२ बैशाख १२ गते महाभूकम्पले नेपाललाई मर्माहत बनायो । गोरखाको बारपाकमा केन्द्रविन्दु बनेर गएको भूकम्पले सिन्धुपाल्चोकलाई निक्कै धेरै असर पु¥यायो । सोही समयमा पनि शेर्पाले राहत उद्धार र व्यवस्थापनका कामहरू गरेको बताउछन् । उनी भन्छन्, ‘हाम्रो जिल्लामा भूकम्पले ठूलो जनधनको क्षतीभयो । तत्कालिन समयमा हाम्रो जिल्लाबासीले ठूलो दुःख भोग्न बाध्य भएका थिए । कति व्यक्तिहरू घाइते बनेका थिए । कति मानिसहरू घरबार, परिवारबिहिन बनेका थिए । कति घाइते थिए । त्यस्तो अवस्थामा हामीले सकेको सहयोग गरेका थियौं । नसकेको अरूसँग मागेर भएपनि साथ दिएका थियौं ।’
सडक सदनसँगको कुराकानिमा शेर्पाले भने, ‘भूकम्पको समयमा बंगलादेशले राहत स्वरू पठाएको ७ सय बोरा चामल हामीले गाउँमा बाढेका थियौं । सुगर फ्रि चामल थियो । मेरै गाविसमा २२० बोरा चामल बितरण गरेको हो । त्यस्तै भूकम्पमा परेर घाइते बनेकाहरूको उपचारमा खटिएका थियौं ।’
शेर्पा सम्झिन्छन्, ‘त्यो कहाली लाग्दो, अत्यास र उराठँ लाग्दो समयमा कसरी काम गर्ने भन्ने हुनेरहेछ । सम्हालिएर काम गर्नुपर्छ भन्ने लाग्यो । हाम्रै वरपरका मानिसहरू कोही मरे । कोही घाइते बने । कोही घरबार बिहिन बने । कोही राहत नपाएर दुःखमा परे । हाम्रो गाउँको मात्रै पीडा थिएन । सिंगो देश नै शोक, भोक र रोगसँग लडिरहेको थियो । हाम्रो गाउँका घाइते मान्छेहरूलाई हेलिकोप्टरमार्फत छाउनी अस्पताल ल्याइएको थियो । छाउनीको चौरमा सुताइएको थियो । अप्रेशनको पालो कुरिरहेका थिए । पालो नै नपाउने । बिरामी र घाइतेहरूको संख्या अधिक थियो । कतिका घाउहरू सडिरहको थियो । त्यो बेला सिंहदरबारमा चाइनिज स्वाथ्यकर्मीको टोली बसेको थाहा पायौं । हामीले सेनासँग कुरा गरेर हाम्रो गाउँठाउँका बिरामीलाई चाइनिज स्वाथ्यकर्मी कहाँ ल्यायौं । उनीहरूले टाउको बाहेक अरू सबै किसिमका घाइते बिरामी ल्याउनुहोस् भनेर भन्नुभएको थियो । चीनको छिन्दु प्रान्तको स्वास्थ्य टोलीले हाम्रो लागि ठूलो सहयोग गरेको थियो ।’
जडिबुटीदेखि सिमेन्ट ढुवानीसम्म
समाजसेवी शेर्पाले आफ्नो जीवनमा अनेकन दुःख, असहजता र चुनौती मोल्नु परेका छ । जडिबुडी खरिद विक्रिदेखि सिमेन्ट ढुवानीसम्मका काममा आफूलाई सक्रिय राखेको बताउछन् । निर्यातलाई बढवा दिने र मुलुकलाई आर्थिक विकासको बाटोमा लेजाने प्रयासमा पनि शेर्पा जुटेका थिए । तर, त्यो प्रयासलाई लामो समयसम्म लेजान भने सकेनन् । समय, परिस्थिति, राजनीति अस्थिरताले शेर्पाको समाजसेवालाई मन्दमन्द पार्ने काम पनि गरेको थियो ।’
शेर्पाले समाजसेवाका मात्रै नभएर अन्य व्यवसायिक कामहरू पनि हात हालेका थिए । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा क्रसर उद्योग खालेको बताउछन् । १५ करोड लगानीमा क्रसर खोलेको उनको भनाई छ । तर, उक्त क्रसरलाई पनि दिगो रुपमा सञ्चालन गर्न सकेनन् । सामूहिक लगानीमा सुरु गरिएको क्रसर अगाडि बढाउन नसक्नुको कारण उनले पाटनरलाई दिन्छन् । पछिल्लो समयमा शेर्पा अरूण तेस्रोका निम्ति सिमेन्ट ढुवानीको काम गरिरहेका छन् । ९०० मेघावाटको आयोजना बनिरहेको छ । २०८० को फागुनभित्र सम्पन्न हुने भनिएपनि अनेकन समस्याका कारण उक्त परियोजना समयमै सम्पन्न हुन नसकेको शेर्पा बताउछन् ।
अरुण तेस्रो जलविद्यूत आयोजना अरूण नदीमा निर्माणाधिन विद्यूत आयोजना हो । यो संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा अवस्थित छ । यस आयोजनाको क्षमता ९०० मेगावाटको हुनेछ । आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपियाँ हुने तथा निर्माण कार्य ५ वर्ष भित्रमा सकिने जनाइएको थियो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला २०७५ बैशाख २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट उक्त आयोजनाको शिलान्यास गरेका थिए ।
विद्यालय र स्वास्थ्य चौकी स्थापना
फुर्पा शेर्पाले गाउँमा स्कुल र स्वास्थ्य चौकी स्थापना गर्ने कामको अगुवाइसमेत गरेको बताउछन् । उनी भन्छन्, ‘हामीले गाउँमा २०७३ सालमा विद्यालय स्थापनाको माग गरेका थियौं । इन्डियन कम्पनि शीवरती टाटासँगको सहयोग र सहकार्यमा २ करोड ९० लाखको श्री थापीनारायण माध्यामिक विद्यालय भवन निर्माण गरिएको छ । त्यस्तै ९० लाखको फुलपिङकटी स्वास्थ्य चौकी बनाइएको छ । उक्त स्वास्थ्य चौकीको नाममा एम्बुलेन्स लिएका छौं । यो सबै काम मेरो एक्लो प्रयासले सम्भव भएको थियो ।
अबको योजना
शेर्पाले आफूले खनेको बाटो पिच गर्ने र गाउँमा स्वास्थ्य शिवीर सञ्चालन गर्ने आफ्नो अबको लक्ष्य रहेको सुनाए । उनले भने, ‘मैले सुरूमा पनि भने पहिलो प्राथमिकता हामीले खनेको बाटोलाई पिच गर्नुपर्नेछ । त्योभन्दा पहिले त स्वास्थ्य शीबिर स्थापना गर्ने, अस्पतालसम्म आउन नसक्ने, रोग दबाएर बसिरहेका स्थानीय मानिसहरू स्वास्थ्य चेक गर्नेगरी चिकित्सको टोली लिनुपर्नेछ । त्यसको लागि तयारी गर्दैछु । अर्को गुम्बाको निम्ति भान्छा घर बनाउनुपर्नेछ । त्यसको लागि पनि काम गर्ने हो ।’









