रामकुमारी एमालेमा, भीम रावल नेकपामा
सरोज घिमिरे
काठमाडौँ। २०७८ मा एमालेबाट विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) निर्माण गरेकी रामकुमारी झाँक्री एमालेमा फर्किएकी छन् । गत सोमबार राष्ट्रिय सभा गृह काठमाडौँमा ‘घर फर्क’ राष्ट्रिय अभियानको सुरूवात गर्दै एमाले अध्यक्ष केपी ओलीले झाँक्रीसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए । तत्कालिन एकीकृत समाजवादी पार्टी र माओवादी पार्टीबीच एकता भएपछि पार्टी स्थायी कमिटी सदस्य झाँक्रीसहित, केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठ, किसान श्रेष्ठ, अर्जुन राई, पिताम्बर तिमिल्सिनालगायतका नेताहरूले माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका हुन् । एमाले फर्किएपछि नेता झाँक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी गरेकी छिन् ।
‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ । बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं । रामकुमारी झाँक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन । अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ । व्यक्तिगत अवसर र लाभका लागि होइन ।’
यसरी रामकुमारी झाँक्री आफ्नो शत्तिसहित एमालेमा फर्किदै गर्दा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने नयाँ पार्टी खोल्ने तयारीमा छन् । जेनजी आन्दोलनपछि शीर्ष नेताहरूको राजनीतिक औचित्यमाथि प्रश्न उठेपछि भूसालसहितका नेताहरूले माधव नेपाल र प्रचण्डलाई शीरमा राखेर हिड्न नसकिने अडान दिएका थिए । सोही अडानका कारण एकीकृत समाजवादी तीन चिरा बनेको थियो भने उता माओवादी केन्द्र पनि विभाजन हुन पुगेको थियो । जनार्दन शर्माले माओवादीबाट विद्रोह गरेका थिए ।
यता एमाले पूर्वउपाध्यक्ष डा.भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित बनेका छन् । बुधबार राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी एकता घोषणा गरेको हो । रावललाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालले माला र खादा लगाएर पार्टीमा समाहित गरेका थिए । यसअघि प्रचण्ड र रावलबिच ७ बुँदे एकता सहमति पत्रमा हस्ताक्षर गरेका थिए । रावलसँगै सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री प्रकाश शाहसमेत नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।
पार्टीमा समाहित हुँदै नेता रावलले केपी ओलीको चर्को आलोचनासमेत गरेका छन् । उनले भनेका छन्, ‘नेता भीम रावलले ओलीको दम्भ र अहंकारका कारण अघिल्लो पटक भएको नेकपा एकता दुर्घटनामा परेको आरोप लगाए । ‘ओली र प्रचण्डले यो जम्बो जेटलाई सुरक्षित रूपमा उडाउँछु भन्नुभएको थियो । क्याप्टेनले नै पोखराको सेतीको खोँचमा फाल्दै गर्दा अर्को सहायक चालक (प्रचण्ड) खस्नै लागेको जहाजमा आँसु खसाल्दै मैले त गल्ती पो गरेजस्तो लागेको महसुस गरे । हामी पछाडि बसेका योद्धाहरू रुन कराउन लाग्यौँ । चिच्यायौँ, करायौँ, क्रन्दन गर्यौं । क्याप्टेन साब जहाज नडुबाउनोस् । त्यस्तै बालुवाटारमा बैठक राख्नुभयो । माधव, झलनाथ, वामदेव र भीम रावललगायत कसैलाई पनि बोलाउनुभएन । एक्लै ओलीले नौ सय जनाको केन्द्रीय समिति बनाउनुभएछ । वाह, कम्युनिस्ट पार्टीका नेता,’ रावलले भने ।
एमालेबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका पूर्वकेन्द्रीय सदस्य प्रकाशबहादुर शाहले ओलीलाई तानाशाहको संज्ञा दिए । उनले भने, ‘देशमा धेरै परिवर्तन भयो । केपी ओलीको अहंकार अझै बदलिएको छैन, दम्भ बदलिएको छैन । दुर्गगमा हुर्किएको भीम रावलको आवाजलाई निमोठ्ने काम गर्नुभयो । त्यहाँ मात्र सीमित भएन । उहाँ श्री ३ महाराज बन्नुभयो। मैले जे बेले त्यही हुन्छ। महाधिवेशनमा कुनै छलफल हुँदैन भन्नुभयो । पुष्पलालको पार्टी बन्न सकेन, मनमोहनको र मदन भण्डारीको पार्टी बन्न सकेन एमाले ।’




