राजतन्त्रका भारदार र गणतन्त्रका नेताको जीवन फरक छैन: महासचिव भूसाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीहरूको पञ्चायतीकरण र नेताहरूमा राजावादी प्रवृत्ति कायमै रहेको टिप्पणी गर्नुभएको छ।
शनिबार ललितपुरमा आयोजित ‘गणतन्त्र नै सहि बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताउँदै उहाँले देश र जनता बनाउनुको ठाउँमा नेताहरू धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो।
‘पार्टीहरू पञ्चायत जस्ता भए। अलिअलि छलफल त पञ्चायत, राष्ट्रिय पञ्चायतमा पनि हुन्थे। पार्टीहरूको पञ्चायतीकरण, नेताहरूको राजातन्त्र,’ भूसालले भन्नुभयो, ‘गणतन्त्रको एउटा स्टिकर टाँसेर हुने हो कि ? हामी धन कमाउनु, धमाउनु आदि इत्यादी काममा हामी गयौँ। लोकतन्त्रमा दल नसुध्रिकन हुँदैन।’
महाससचिव भुसालले भारदारहरू र अहिलेका नेताहरूमा कुनै फरक नरहेको पनि बताउनुभयो। लोकतन्त्रका नेताहरूको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने उहाँको जिकिर थियो।
‘भारदारहरू र हाम्रा नेताहरू फरक छन् साँच्चै? भन्नसक्छौँ। म गणतन्त्रवादी, मेरा नेता र राजाका भारदारको जीवनमा फरक छैन। तिनले बस्ने कुर्सी, तिनले हिँडने तरिका, तिनका भेटघाट, रातिको भेटघाट, सम्पती,’ भूसालले भन्नुभयो, ‘साँच्चै कति कति फरक छ? गणतन्त्रवादीले यो नैतिकताका साथ किन भन्न सकिरहेका छैनन्। दोषी को हो? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैनन्। दुरदिन अझै लम्बिएर जान्छ। यो त्यही विचारमा हामीले गरेको कम्परमाइजका लागि बीपीले र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ।’