बधाई : अस्मिता र महेशले दुबईमा साटे ‘सहयात्रा’को औंठी
दुबई । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अब औपचारिकरूपमा ‘कपल’ बनेका छन्। लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्धको चर्चा हुँदै आएपनि दुवैले सार्वजनिक रूपमा स्वीकार गरेका थिएनन्।
अस्मिता र महेशले मंगलबार दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा औंठी साटेर आफ्नो प्रेमलाई औपचारिकता दिए। अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) आबुधाबी क्षेत्रीय समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन केही दिनअघि दुबई पुगेका उनीहरु ईंगेजमेन्टको पूर्व तयारीसहित नेपालबाट नै आएका थिए। औंठी भने दुबईमै सोमबार खरिद गरेका थिए।
महेश र अस्मिता गत १३ जूनमा दुबई उडेका थिए। उनीहरु जुन १५ मा इनास आबुधाबीले आयोजना गरेको कार्यक्रममा सहभागी भए। आइतबार इदको कार्यक्रममा प्रस्तुति दिएपछि सोमबार ईंगेजमेन्टको तयारी र डेजर्ट सफारीमा रमाए। मंगलबार औपचारिक रूपले ईंगेजमेन्ट गरेपछि फोटोसुट गरे र सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरे। त्यसपछि, ‘कपल’ का रूपमा दुबई घुम्न थाले।
ईंगेजमेन्टमा नेपालबाट सँगै आएका कलाकार विश्व दोङ, सुनिता कार्की तथा इनास यूएईका केही पदाधिकारी सहभागी थिए। गायक प्रमोद खरेल भने सांगीतिक कार्यक्रम सकाएर कतार हुँदै क्यानडा गएकाले सहभागी हुन सकेनन्। पारिवारिक सदस्यहरु भने कोही पनि थिएनन्। ईंगेजमेन्टका क्रममा उनीहरुले परिवारसँग भिडिओ कल मार्फत कुराकानी गरेका थिए।
परिवारको सल्लाहअनुसार दुबईमा ईंगेजमेन्ट गरेको अस्मिताले बताइन्। उनले संसारको प्रख्यात शहरमा छिटो र सहज रूपमा ईंगेजमेन्ट गर्न पाउँदा खुशी भएको बताइन्। यसै वर्षभित्र बिहे गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिइन्। अस्मिताका अनुसार बिहे पनि नेपाली परम्पराअनुसार सादा र तडकभडक विहीन हुने छ।