दशैंको महिमा: घटस्थापनादेखि पूर्णिमासम्म १५ दिने दशैं
काठमाडौँ । हिन्दुहरूको महान चाँड विजया दशमी भव्यताका साथ मनाईएको छ। घटस्थापना (असोज ६) देखि (असोज २१) पूर्णिमासम्म दशैं पर्व मनाइन्छ। नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ। नेपालीले असोज शुक्ल प्रतिपदा (घटस्थापना) देखि असोज शुक्ल पूर्णिमासम्म १५ दिन बडा दशैं पर्व भव्यरूपमा मनाउँछन्। नजिकका परिवारका सदस्य र मान्यजनहरूबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरूसम्म पुग्न नपाएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन्। असोज शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी बिसर्जन गरेपछि नै शुरू हुन्छ।
के हो दशैं ?
दशैं, आध्यात्मिक, सामाजिक र सांस्कृतिक एकताको प्रतीक हो। यो पर्वको विशेष दिन विजया दशमी हो। यस दिनमा परिवारका ज्येष्ठ सदस्यले सानालाई टीका, जमरा लगाएर आशीर्वाद दिने परम्परा छ। यो आशीर्वाद केवल औपचारिक शब्दहरूको संग्रह नभई गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको अभिव्यक्ति हो। दशैंको टीकामा दिइने आशीर्वादको अर्थलाई विभिन्न आयामबाट बुझ्न सकिन्छ। मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उन्नति, प्रगतिको कामना गर्ने गर्छन्। दशैंको टीकाको आशीर्वादले परिवार र समुदायलाई जोड्ने काम गर्छ। मान्यजनबाट आशीर्वाद पाउँदा आनन्द र खुसी मिल्छ। साथै जीवनमा अघि बढ्न प्रेरणा पनि मिल्छ। यो प्रक्रियाले पारिवारिक एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउँछ। टीका लगाउने र आशीर्वाद दिने कार्यले कम्तीमा वर्षको एक पटक परिवारका सबै सदस्यलाई एकै ठाउँमा भेला हुन प्रेरित गर्छ।
दक्षिणा दिने चलन
दशैँमा टीका लगाइदिएपछि दक्षिणा दिने चलन ठ्याक्कै कहिलेबाट शुरू भयो भन्ने कुरा कतै उल्लेख भएको नपाइएको संस्कृतिविद् टण्डन औँल्याउँछन्। दक्षिणाको सन्दर्भमा त्यति चर्चा पाइँदैन, तर हाम्रो परम्परामा टीका लगाइदिएपछि दक्षिणा दिने चलन छ, उनले भने। ‘दशैँको विषयमा खोज्दै जाँदा विक्रम संवत्को १२०० सम्म हामी पुग्न सक्छौँ। त्यसभन्दा अगाडि लिच्छविकाल, मध्यकालमा देवीदेउताको पूजाआजाबारे उल्लेख गरेको प्रशस्त पाइन्छ।’‘तर दशैँको सन्दर्भ पाइँदैन। दुर्गा सप्तशती विक्रम संवत १२०० देखि पाइएको हुनाले सम्भवतःत्यही बेलादेखि दशैँको परम्परा चलेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ।
दक्षिणाको विषयमा चर्चा विरलै पाइन्छ,’ टण्डनले थपे । ब्राह्मण तथा साधुसन्तलाई भोजन गर्न डाकेपछि खुवाइसकेपश्चात् खाली हात पठाउनु हुँदैन भन्ने उल्लेख भएकोले त्यसैबाट प्रभावित भएर दशैँमा टीका थाप्न आउनेलाई दक्षिणा दिने प्रचलन शुरू भएको हुन सक्ने उनको तर्क छ । ‘कसैले पूजा, कर्मकाण्ड गराउँदा उसलाई दक्षिणा नदिए फल प्राप्त नहुने, त्यो पूरा नहुने अनि ब्राह्मण वा भिक्षुलाई खुवाएपछि खाली हात नफर्काई केही पत्रम्पुष्पम् दिनुपर्ने शास्त्रहरूमा उल्लेख भएको पाइन्छ,’ टण्डन भन्छन्। ‘दक्षिणा दिनुपर्छ भन्ने चलन धार्मिक, सामाजिक पक्षमा छ। त्यही कुराको सिको वा प्रभाव दशैँमा आएको देखिन्छ ।’ ब्राह्मण, विद्वान्ले अध्ययन गर्ने र ज्ञानगुनका कुरा बाँड्ने भएपछि त्यो लिए बापत दक्षिणा दिने चलन शुरू भएको संस्कृतिविद् काफ्ले बताउँछिन्।
समूदायअनुसार दशैं
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोलअनुसार फरक-फरक छ। कतै देवीको पूजा आराधनासहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर पनि दशैँ मनाउने प्रचलन छ। कतिपय जनजाति समुदायले आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि दशैँ मनाउने गरेका छन्। संस्कृतिविद् र जानकारहरूका अनुसार नेपालमा जाति, भूगोल र परम्परा अनुसार दशैँमा रातो, सेतो, पहेँलो र कालो रङ्गको टीका लगाउने चलन छ। दशैँलाई प्रमुख चाडको रूपमा मनाउने हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरैले यो चाडमा रातो टीका लगाउँछन् भने राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायका अधिकांशले दशैँमा सेतो टीका लगाउने गरेका छन्।




