युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनसँग राष्ट्रपतिको आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्। जर्मन भ्रमणका क्रममा उनले जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरसँग भेट गरेर यस्तो आग्रह गरेका हुन्।

बुधवार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्र सचिव सेवा लम्सालले राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा पुनः सुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन्।

जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता गरेका थिए। भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, र व्यवसायिक तालिममा केन्द्रित भएर नेपाल-जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन्।

राष्ट्रपति पौडेलले कृषि, पर्यटन, र जलश्रोत लगायतका विकास प्राथमिकतामा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेको पनि बताइन्। त्यस्तै, स्विट्जरल्याण्ड भ्रमणका क्रममा उनले स्विस रक्षामन्त्री भियोला एमहर्डसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल-स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको लम्सालले जानकारी गराइन्।

उनका अनुसार दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाबारे सन्तोष व्यक्त गर्दै, नेपाल र स्विट्जरल्याण्डबीच विकास सहयोग, उच्चस्तरीय भ्रमणको आदानप्रदान, सांस्कृतिक र जनस्तरीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको थियो। कृषि, ऊर्जा, दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय वातावरण बचाउने विषयमा पनि छलफल केन्द्रित भएको थियो।

यस अवसरमा राष्ट्रपति पौडेलले स्विस राष्ट्रपति एमहर्डलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका थिए। जर्मनी भ्रमणका क्रममा, राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट नेपालको स्तरोन्नति, कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था तथा संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदानका विषयमा पनि छलफल गरेका थिए।

उनीहरुले जर्मनीका राष्ट्रपति स्टाइनमायरलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिएका थिए। साथै, दुई पक्षीय सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउन मद्दत पुग्ने आशा व्यक्त गरिएको छ।


ताजा समाचार