जेनजीका नाममा अरूले विध्वंस मच्चाए: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन्।

आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई भजाउन र युवा सेन्टिमेन्ट भड्काउन जेनेरेसन जेड जेनजी भनेर चलाइएको समेत बताए।

‘युवाहरूले राम्रा माग राखेर भदौ २३ गते आन्दोलन आह्वान गर्नुभएको थियो’, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘माइतीघरदेखि नै युवाहरूका माग र मुद्दा खोसाखोस चलिरहेको थियो।’

उनले युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा अघि नै उनीहरूका मुद्दा, माग र आन्दोलन खोस्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेको दाबी गरे। ‘अझ युवाहरूले जसोतसो होटल एभरेष्टसम्म आन्दोलनलाई पुर्‍याएका थिए’, ओलीले भने, ‘त्यसपछि निषेधाज्ञा तोड्ने,व्यारिकेट तोड्ने,अवज्ञा गर्ने र भिडन्तको राजनीति गर्ने काम भयो।’

त्यसक्रममा युवाहरूका जायज मागहरुहरुलाई भुईँमा क्षतविक्षत हुने गरी पछार्ने र अरू उग्रवादी धारणा र मागका क्रियाकलाप अगाडि बढेको बताए। ‘युवाका नाममा विध्वंस अरूले नै मच्चाए। २४ गते देशभरी जुन आगलागी र तोडफोड भयो, अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाएर पठाइएको छ’,ओलीले भने, ‘त्यो २३ गतेको प्रतिक्रिया होइन, तयारी हो।’

अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाएर त कोही काला ज्याकेट लगाएर नेता बनेको भन्दै तिनलाई मन नपर्ने समाचार दियो भने सञ्चारकर्मीलाई नै धम्की आउन थालेको बताए।

उनले सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले दिनुपर्ने अवस्था आएको, प्रहरी र जनता त्रसित भएको अवस्थामा युवा संघले आश्वस्त पार्न सक्नुपर्ने बताए। युवाहरूका नाममा प्रतिगमन गरिएको भन्दै अपराधिक तत्त्वहरू कोही युवा भएपनि उनीहरू कुनै जिम्मेवार र सङ्गठित युवा नभएको ओलीको भनाइ छ।


ताजा समाचार