नेपाल-दक्षिण अफ्रिकाको खेल ‘म्याच अफ दि टुर्नामेन्ट’, नेपाल जीतको हकदार थियो : डेल स्टेन
काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनले विश्वभर प्रशंसा पाएको छ। नेपालले खेल जित्न नसके पनि दर्शकको मन जितेको क्रिकेटका हस्तीहरूले बताएका छन्।
दक्षिण अफ्रिकाका पूर्वफास्ट बलर डेल स्टेन, जो विश्वकपमा कमेन्टेटरको भूमिकामा छन्, ले खेलपछि नेपालको खुलेर प्रशंसा गरे। स्टेनका अनुसार, नेपाल जीतको हकदार थियो, तर दक्षिण अफ्रिका भाग्यशाली ठहरियो।
स्टेनले भने, ‘बेजोड खेल भयो। म अन्डरडगको ठूलो फ्यान हुँ। दक्षिण अफ्रिकाको खेल भए पनि मेरो सहानुभूति नेपालप्रति थियो। उनीहरू जीतका हकदार थिए, तर फिनिसिङ लाइनसम्म पुग्न सकेनन्। यदि नेपालले जितेको भए, उनीहरू टक अफ दि टाउन हुने थिए। नेपाल टक अफ दि टुर्नामेन्ट हुने थियो। त्यसपछि बंगलादेशविरुद्ध नेपालको म्याच विस्फोटक हुने थियो। मैले मनमनै त्यही चाहेको थिएँ।’
स्टेनले आजको खेललाई ‘म्याच अफ द टुर्नामेन्टु को संज्ञा दिए। उनले थपे, ‘हामीले यहाँ १६० देखि १८० रनसम्मको अपेक्षा गरेका थियौं, तर लो स्कोरिङ खेल भयो। नेपालले उत्कृष्ट बलिङ गर्यो। ब्याट्सम्यानहरूलाई गुगलीले अप्ठेरोमा पारिरहेको थियो। खेलको अन्तिम बलमा एक रन लिन सकेको भए खेल सुपर ओभरमा जान सक्थ्यो। जे भए पनि मेरो लागि यो म्याच अफ दि टुर्नामेन्ट हो।’
स्टेनले आजको पीचमा दक्षिण अफ्रिकाको रणनीति गलत भएको पनि टिप्पणी गरे। उनका अनुसार, पीचअनुसार दक्षिण अफ्रिकाले दुई जना स्पिनर खेलाउनुपर्ने थियो। उनले भने, ‘उनीहरूले नेपाललाई गतिले नै हराउन सकिन्छ भनी चार जना पेसरलाई निरन्तरता दिए, तर विकेटमा स्पिन थियो। साउथ अफ्रिकाले गलत रणनीति बनायो, तर पनि भाग्यवस उनीहरूले जिते।’




