टी–२० विश्वकप : न्युजिल्यान्ड र युगान्डा भिड्दै
एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शनिबार न्युजिल्यान्ड र युगान्डाबिच भिडन्त हुँदैछ । खेल ट्रिनिडाड एन्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा नेपाली समय अनुसार, विहान ०६ः१५ बजे सुरु हुनेछ ।
न्युजिल्यान्ड र युगान्डा दुबै समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोली प्रतियोगिताको समूह ‘सी’ मा छन्। त्यो समूहमा अफगानिस्तान, वेस्ट इन्डिज र पपुवा न्यु गिनी पनि रहेका छन् ।
समूह ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान सुपर–८ चरणमा पुगिसकेका छन् । अन्य टोली भने उपाधि होडबाट बाहिरिएका छन् । तीन खेलबाट ६ अंक जोडेको अफगानिस्तान पहिलो र समान खेलबाट समान अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छन् ।
यसैगरी तीन खेलबाट दुई अंक बटुलेको युगान्डा तेस्रो स्थानमा छ । तीन खेल खेलेको पपुवा न्यु गिनी र दुई खेल खेलेको न्युजिल्यान्डले भने अंक बटुल्न सकेका छैनन् । युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग एक सय २५ रनले हारेको थियो ।
युगान्डाले आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनीलाई तीन विकेटले हराएको थियो । युगान्डा आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग एक सय ३४ रनले पराजित भएको थियो । न्युजिल्यान्ड भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनले हारेको थियो ।
आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डको टोली वेस्ट इन्डिजसँग १३ रनले पराजित भएको थियो । जारी विश्वकपमा खराब प्रदर्शन गरेको बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डले समूहगत चरणमा आफ्नो अन्तिम खेल जुन १७ तारिखमा पपुवा न्यु गिनीसँग खेल्नेछ ।




