टी–२० विश्वकप : अमेरिकाले आयरल्यान्डको सामना गर्दै

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दै छ । खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा नेपाली समय अनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

अमेरिका र आयरल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा भारत, पाकिस्तान र क्यानडा पनि रहेका छन् । आयरल्यान्ड बाहेक अन्य चार टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आयरल्यान्डले भने दुई खेल मात्र खेलेको छ ।

अघिल्लो तीन वटै खेलमा विजयी भएको भारत ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । पहिलो संस्करणको उपाधि विजेता भारत यसअघि नै सुपर–८ चरणमा पुगिसकेको छ । तीन खेलबाट चार अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तेस्रो र तीन खेलबाटै दुई अङ्क जोडेको क्यानडा चौथो स्थानमा आसीन छन् । आयरल्यान्डले भने दुई वटै खेलमा पराजित भएको छ । शुक्रबारको खेलमा विजयी भए आयोजक अमेरिका प्रतियोगिताको सुपर–८ चरणमा पुग्नेछ ।

अमेरिका र आयरल्यान्डबिचको खेल बराबरीमा सकिए वा रद्द भएमा पनि अमेरिका पाँच अङ्कसहित सुपर–८ चरणमा प्रवेश गर्नेछ । यस्तो स्थितिमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड उपाधि होडबाट बाहिरिने छन् ।

अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा अमेरिकाले बलियो पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा भने अमेरिकी टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।


ताजा समाचार