सिफारिस भएपछि बकिलले भने, ‘यो सम्मान होइन, जिम्मेबारी हो’
कालिकोट। नेकपा एमाले कालिकोटले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जना नेताको नाम सिफारिस गरेको छ।
कालिकोटबाट केन्द्रीय सदस्य नगिन्द्रबहादुर शाही, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य वकिल बम र तिलागुफा नगरपालिका–६ कि एमाले नेता सिता शाहीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
एमाले कालिकोट जिल्ला कमिटी अध्यक्ष तुलाराज मल्लले आज उक्त नामहरू नेकपा एमाले कर्णाली प्रदेश कमिटीलाई औपचारिक रूपमा सिफारिस गरेको जानकारी दिएका छन्।
जिल्लाबाट सिफारिस भएपछि युवा नेता बमले फेशबुकमार्फत आफ्नो धारणासमेत सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘कालिकोटबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेको तर्फबाट सिफारिस गर्ने एमाले कालिकोट जिल्ला कमिटीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। पार्टीले मप्रति देखाएको विश्वासलाई म जिम्मेवारीका रूपमा लिएको छु, सम्मानका रूपमा होइन। कालिकोट आज पनि अन्य जिल्लाको तुलनामा खानपिन, स्वास्थ्य, शिक्षा, सडक, सञ्चार र रोजगारीका अवसरमा पछाडि छ। यो अवस्थाबाट बाहिर निकाल्न अब नाराभन्दा योजना, रणनीति र परिणाममुखी नेतृत्व आवश्यक छ।’
बमले अगामी भनेका छन्, ‘यदि पार्टी र जनताबाट अवसर पाएँ भने, बारम्बार भन्दै आएका मेरो चुनाव केन्द्रित प्राथमिक योजना यस्ता रहनेछन्। खाद्य सुरक्षा र कृषि सशक्तीकरण, कृषकलाई बीउ, मल, तालिम र बजारसँग जोड्ने। आधारभूत स्वास्थ्य सेवा, गाउँगाउँमा सेवा, अस्पतालमा योग्य डाक्टर र औषधि सुनिश्चित। गुणस्तरीय शिक्षा, योग्य शिक्षक, सुरक्षित विद्यालय र छात्रवृत्ति। सडक, पुल र यातायात, मुख्य बस्ती जोड्ने सडक र सुरक्षित पैदल मार्ग। सञ्चार र डिजिटल पहुँच, मोबाइल नेटवर्क, इन्टरनेट र डिजिटल सेवा। रोजगारी र युवाको उद्यम, गाउँमै रोजगारी, सीप तालिम र व्यवसायिक सहयोग। पारदर्शी प्रशासन, भ्रष्टाचारमुक्त, जवाफदेही र जनमुखी सेवा। यी विषयमा रणनीतिक योजना र विकासको स्पष्ट रोडम्याप म चुनाव अगावै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मेरो लक्ष्य पद होइन, कालिकोटका नागरिकको जीवनस्तरमा देखिने परिवर्तन हो। पार्टी, नेता(कार्यकर्ता र सम्पूर्ण कालिकोटवासीको साथ, सुझाव र मार्गदर्शनको अपेक्षा गर्दछु।’




