रेशम चौधरी पक्राउपछि एकता घोषणा कार्यक्रम स्थगित नेता र कार्यकर्ता तिरवितर
काठमाडौँ। नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो।
फोटोपत्रकार मुकुन्दबहादुर कालिकोटेका अनुसार साधा पोशाकका प्रहरीले चौधरीलाई पक्राउ गरेका हुन्। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए। पार्टी एकताको वातावरण बिथोलिएको छ भने कार्यकर्ताहरू तितरवितर छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए। ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।








