संसदमा सत्तापक्ष र प्रतिपक्ष आमने सामने
काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सत्तापक्ष र प्रतिपक्षबीच टकराव भएपछि सभामुख देवराज घिमिरेले ४ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। तर, संसद सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको हो। संसद सचिवालयले सोमबार ११ बजे बैठक बस्ने जानकारी दिएको छ।
कुलमान प्रकरणमा विपक्षीले लगातार सदन अवरुद्ध गरेपछि आइतबार सत्तापक्षका सांसद आक्रोशित भएका थिए। प्रतिनिधिसभाको बैठक सुरु हुने बितिकै प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। प्रधानमन्त्रीले सोमबारको बैठकमा जवाफ दिने तय भइसकेपछि पनि विपक्षीले सदनमा अवरोध सिर्जना गरेको भन्दै सत्तापक्ष सांसदहरू आक्रोशित भएका थिए।
सो क्रममा विपक्षी र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो। त्यस्तै सत्तापक्ष सांसदहरूले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए। दुई पक्षबीच असहज अवस्था सिर्जना हुने देखिएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।




