केआईआईटी विश्वविद्यालयले निष्कासित नेपाली विद्यार्थीलाई पुनः छात्रावासमा फर्काउने
काठमाडौं। भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले सोमबार निष्कासित नेपाली विद्यार्थीलाई पुनः छात्रावासमा फर्काउने निर्णय गरेको छ।
आइतबार नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा विरोध जनाएका सात सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले प्रहरी परिचालन गरी जबरजस्ती छात्रावासबाट बाहिर निकालेको थियो।
तर, नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको पहलपछि विश्वविद्यालयले आफ्नो निर्णय परिवर्तन गर्दै ती विद्यार्थीलाई पुनः छात्रावासमा राख्ने र पठनपाठन निरन्तर गराउने आश्वासन दिएको छ।
दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय प्रशासनसँग छलफल गरी नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्दै उनीहरूलाई पुनः छात्रावासमा आवासीय सुविधा दिन र कक्षा सञ्चालन गर्न आग्रह गरिएको उल्लेख छ।
‘छात्रावासमै बस्ने व्यवस्था मिलाउन र कक्षा पुनः सञ्चालन गर्न यस दूतावासले अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार विश्वविद्यालयले आवश्यक पहल गर्ने जानकारी गराएको छ,’ दूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
रुपन्देहीकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि नेपाली विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, आन्दोलन चर्किएपछि विश्वविद्यालय प्रशासनले उनीहरूलाई छात्रावासबाट निष्कासित गर्दै रेलवे स्टेशनमा छाडिदिएको थियो।
यस घटनालाई गम्भीरतापूर्वक लिँदै नेपाली दूतावासले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ। विश्वविद्यालय प्रशासनले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ।





