किर्गिस्तानलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौँ। नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो। नेपालका लागि एक मात्र निर्णायक गोल विमला चौधरीले गरेकी थिइन्।

खेलको १०औं मिनेटमा सविता रानामगरको उत्कृष्ट क्रसमा विमलाले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। खेलको ६औं मिनेटमै रेखा पौडेलको प्रहार किर्गिस्तानकी गोलरक्षकले पन्च गरिन्, जसको रिबाउन्डमा सविताले प्रहार गरिन् तर बल बारभन्दा माथि गयो।

२१औं मिनेटमा सविताको पासमा रश्मी कुमारी घिसिङको प्रहार गोलपोस्टको नजिकबाट बाहिरियो। त्यसपछि २७औं मिनेटमा प्रीति राईको प्रहार किर्गिस्तानकी गोलरक्षकले बचाइन्। ३०औं मिनेटमा रेखा पौडेलको शक्तिशाली प्रहार पनि किर्गिस्तानकी किपरले रोकिन्।

पहिलो हाफको इन्ज्युरी समयमा नेपालले अग्रता दोब्बर गर्ने अवसर गुमायो। रश्मी कुमारी घिसिङको प्रहार क्रसबारमा लागेर फर्कियो, त्यसकै रिबाउन्डमा सविताले प्रहार गरिन् तर पुनः क्रसबारमै लागेर फर्किएको बललाई रेखा पौडेलले नियन्त्रणमा लिएर पोस्टतर्फ प्रहार गरिन्, तर विपक्षी डिफेन्डरले क्लियर गरिदिए।

८१औं मिनेटमा सविता रानामगरको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिएपछि नेपालले अर्को सुनौलो अवसर गुमायो।

यस जितसँगै नेपाल ३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उभिएको छ। समान ३ अंक भए पनि गोलअन्तरका आधारमा म्यानमार शीर्ष स्थानमा रहेको छ। यसअघि सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो।


ताजा समाचार