टी–२० विश्वकप : आज पहिलो ‘सुपर–८’ को खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्दै
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ का खेल आज (बुधवार) देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत ‘सुपर–८’ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन्। समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए ।
बुधवार पहिलो ‘सुपर–८’ को खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रूपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो । ‘सुपर–८’ को खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ ।
दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बिचको खेल पहिलो पटक हुन लागेको छ । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।




