मेरो कप्तानीबारे निर्णय पीसीबीको हातमा : बाबर आजम

काठमाडौँ । टी-२० विश्वकपको समूह चरणमै पाकिस्तान बाहिरिएपछि कप्तान बाबर आजममाथि धेरैले प्रश्न उठाइरहेका छन्। केही समयअघि मात्र कप्तानी फिर्ता पाएका बाबर अहिले पुनः दबाबमा छन्।

तर, बाबरले आफ्नो कप्तानीबारे निर्णय पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) सँगको छलफल र समीक्षापछि मात्र गर्ने बताएका छन्। उनले भने, ‘सन् २०२३ मा मैले कप्तानी छाड्दा मलाई अब यो जिम्मेवारी सम्हाल्नु हुँदैन भन्ने लागेको थियो, त्यसैले मैले आफैंले कप्तानी छाडेर घोषणा गरेको थिएँ।’

‘मलाई कप्तानी फिर्ता दिने निर्णय पीसीबीको थियो। जब म पाकिस्तान फर्किन्छु, यहाँ जे भयो त्यसको बारेमा छलफल गर्नेछु,’ बाबरले भने, ‘यदि मैले कप्तानी छाड्नुपर्‍यो भने, म खुला रूपमा त्यसको घोषणा गर्ने छु। सबै कुरा पारदर्शी रूपमा हुनेछ। अहिलेको स्थितिमा मैले यसबारे केही सोचेकै छैन। यो पीसीबीको हातमा छ।’

जब उनलाई ‘के तपाईं कप्तानको रूपमा पाकिस्तानको चाँडै प्रतियोगिताबाट बाहिरिनुको जिम्मेवारी लिनुहुन्छर ? भनेर सोधियो, बाबरले जवाफ दिए, ‘हामी कुनै एक व्यक्तिका कारणले हारेका होइनौं। हामी टिमका रूपमा जित्छौं र हार्छौं। तपाईंले मलाई कप्तान भनेर औँला उठाइरहनु भएको छ, तर म सबै खेलाडीको पोजिसनमा खेल्न सक्दिनँ। टोलीमा ११ जना खेलाडी हुन्छन्, सबैको आ-आफ्नो भूमिका हुन्छ। त्यसैले उनीहरू यहाँ विश्वकप खेल्न आएका हुन्। मलाई लाग्छ हामी टिमका रूपमा राम्रो खेल्न सकेनौं। हामीले यो स्वीकार गर्नुपर्छ।’


ताजा समाचार