टी-२० विश्वकप : नेपालले बंगलादेशविरुद्ध खेलेको खेलमा के के रेकर्ड बने त ?
काठमाडौं । टी-२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा केही रोचक कीर्तिमान बनेका छन्। आजको खेलमा बंगलादेशले एसोसियट राष्ट्रविरुद्ध २० ओभरमा बनाएको सबैभन्दा न्यून स्कोर बनायो।
यस खेलमा थप रेकर्डहरू पनि बने।
बंगलादेशले १०६ रनको स्कोर सफलतापूर्वक रक्षा गर्यो, जुन टी-२० विश्वकपमा अहिलेसम्मको सबैभन्दा न्यून स्कोर हो जसलाई कुनै पनि टिमले रक्षा गरेको छ। यसअघि, गत साता बंगलादेशविरुद्ध नै साउथ अफ्रिकाले न्यूयोर्कमा ११३ रनको स्कोर रक्षा गरेको थियो, जुन कीर्तिमान आज बंगलादेशले तोड्यो।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा फुल मेम्बर टिमले १०६ भन्दा कम रन बनाएर केवल दुई पटक मात्र खेल जितेको छ। वेस्ट इन्डिजले सन् २०१४ मा आयरल्यान्डविरुद्ध ९६ रन रक्षा गरेको थियो, भने सन् २०१० मा जिम्बाबेले वेस्ट इन्डिजविरुद्ध १०५ रन बनाएर खेल जितेको थियो।
बंगलादेशका बलर तान्जिम हसन सकिबले नेपालविरुद्ध चार ओभर फ्याँक्दा २१ बल डट राखे, जुन टी-२० विश्वकपको खेलमा सबैभन्दा धेरै डट बलको कीर्तिमान हो। यसअघि ९ जना बलरले २० बल डट राखेका थिए, तीमध्ये ७ रेकर्ड यही विश्वकपमा बनेका हुन्।
आजको खेलमा बंगलादेशलाई नेपालले १०६ रनमा अलआउट गरेको थियो भने नेपाललाई बंगलादेशले ८५ रनमा अलआउट गर्यो। टी-२० विश्वकपमा दुवै टिमका ब्याट्सम्यान अलआउट भएको यो तेस्रो पटक हो। यसअघि सन् २०१० मा अष्ट्रेलिया र पाकिस्तान तथा सन् २०१४ मा श्रीलंका र न्यूजिल्यान्डको खेलमा मात्र यस्तो भएको थियो।
बंगलादेशका बलर मुस्तफिजुर रहमान र तान्जिमले चार ओभर बलिङ गर्दा ७-७ रन मात्र खर्चिए, जसले बंगलादेशका कुनै पनि बलरले चार ओभर बलिङ गर्दा न्यून रन खर्चेको रेकर्ड बराबरी गरेको छ। यसअघि रिसाद होसेनले अमेरिकाविरुद्ध यसै वर्ष ७ रन मात्र खर्चेर आफ्नो बलिङ कोटा पूरा गरेका थिए।
कुनै पनि पुरुष टी-२० अन्तर्राष्ट्रिय म्याचमा एउटा टिमका दुई ब्याट्सम्यानले अर्धशतकीय साझेदारी गरेर बनाएको तेस्रो थोरै रनको रेकर्ड नेपालले राखेको छ। नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लबीच ५२ रनको साझेदारी भएको थियो, तर नेपालले ८५ रन मात्र जोड्न सक्यो। यसअघि नर्वेले जर्मनीविरुद्ध सन् २०२१ मा ७६ रन बनाएको थियो, जबकि आठौं विकेटका लागि दुई ब्याट्सम्यानले ५९ रनको साझेदारी गरेका थिए। यस्तै सन् २०२२ मा घानाविरुद्धको खेलमा क्यामरुनका ओपनर ब्याट्सम्यानले ५२ रनको साझेदारी गरेका थिए, तर क्यामरुन ७६ रनमा अलआउट भएको थियो। टी-२० विश्वकपमा भने नेपालको कीर्तिमान हो। यसअघि सन् २०२१ मा आयरल्यान्ड श्रीलंकाविरुद्ध १०१ रनमा अलआउट भएको थियो।
बंगलादेशले आज बनाएको १०६ रन कुनै पनि फुल मेम्बरले टी-२० विश्वकपमा एसोसियट राष्ट्रविरुद्ध बनाएको दोस्रो सानो स्कोर हो। पहिलो सानो स्कोर सन् २०१४ मा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध बनाएको ८८ रन थियो।
बंगलादेशले बनाएको १०६ रन एउटा फुल मेम्बरले अन्तर्राष्ट्रिय टी-२० मा एसोसियट्सविरुद्ध बनाएको पाँचौं सानो स्कोर हो, जुन बंगलादेशको सबैभन्दा सानो स्कोर पनि हो। यसअघिको सानो स्कोर हङकङविरुद्ध सन् २०१४ मा बनाएको १०८ रन थियो।




