नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो
काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिएपछि नेपालले २०२६ को टी-२० विश्वकपमा सोझै खेल्ने मौका पनि गुमाएको छ। नेपाल समूह ‘डी’ मा शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर-८ मा पुग्न असफल भयो।
अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर-८ मा पुग्ने टोलीलाई २०२६ को टी-२० विश्वकपमा सोझै खेल्ने मौका थियो। सुपर-८ मा पुग्न सफल हुने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान सुरक्षित गर्नेछन्। आयोजक भारत र श्रीलंका भने स्वतः छनोट भएका छन्। आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेका तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन्।
हाल आईसीसी टी-२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ। वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएपछि नेपालले एसिया छनोट खेल्नुपर्नेछ।
२०२६ को टी-२० विश्वकपमा हालसम्म सोझै छनोट भएका ७ टोलीहरू छन्स् आयोजक भारत र श्रीलंका, सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, र दक्षिण अफ्रिका। बाँकी दुई स्थानका लागि इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश, र स्कटल्यान्डबीच प्रतिस्पर्धा छ।
आईसीसी टी-२० आई वरीयतामा भारत शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, वेष्टइण्डिज तेस्रो, इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, न्युजिल्यान्ड छैटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान दशौं, आयरल्यान्ड ११ औं, र स्कटल्यान्ड १२ औं स्थानमा छन्। सुपर ८ मा पुग्न नसके पनि न्युजिल्यान्ड र पाकिस्तान वरीयताका आधारमा टी-२० विश्वकपमा पुग्ने लगभग निश्चित छ।
अमेरिका हालसम्म २०२६ को टी-२० विश्वकपमा सोझै छनोट हुने एकमात्र एसोसिएट टोली हो। समूह ‘ए’ मा ४ खेलमा ५ अंकसहित सुपर ८ मा स्थान बनाएर २०२६ को विश्वकपमा पुगेको हो।
समूह ए बाट भारत र अमेरिका सुपर-८ मा पुगेका छन् भने समूह बी बाट अष्ट्रेलिया पुगेको छ। इंग्ल्यान्ड र स्कटल्यान्ड यस दौडमा छन्। इंग्ल्यान्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ र आज राति नामिबियासँग खेल्दैछ। स्कटल्यान्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ र भोलि अष्ट्रेलियासँग खेल्दैछ।
यदि स्कटल्यान्ड विजयी भएमा इंग्ल्यान्डलाई पछि पार्दै सुपर ८ मा पुग्नेछ। अष्ट्रेलिया विजयी हुँदा र अन्तिम खेलमा इंग्ल्यान्डले नामिबियालाई हराउँदा नेटरनरेटका आधारमा सुपर ८ मा पुग्ने सम्भावना छ। सुपर ८ मा पुग्न नसके इंग्ल्यान्ड वरीयताका आधारमा विश्वकपमा खेल्ने पक्का छ।
समूह ‘डी’ मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ र आइतबार नेपालसँग खेल्दैछ। नेदरल्यान्ड्स ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा छ र सोमबार श्रीलंकासँग खेल्दैछ। यदि बंगलादेश सुपर ८ मा पुग्न नसके, नेपालसँगै एसिया छनोट खेल्नुपर्ने सम्भावना छ।




