वन्यजन्तु सडक सुरक्षासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिल अञ्जान

कोहलपुर। वन्यजन्तु सडक दुर्घटना कसरी कम गर्न सकिन्छ भन्नेबारे अन्तरक्रिया कार्यक्रम बिहीबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ।

वातावरण अध्ययन तथा संरक्षण केन्द्रको आयोजना र द रुफोर्ड फाउन्डेसनको सहयोगमा सञ्चालित कार्यक्रममा कोहलपुर क्षेत्रका सवारी चालकहरू, बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला तथा इलाका वन कार्यालका प्रतिनिधि, मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय, यातायात व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्ष तथा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष शालिकराम डाँगीले आफ्नो वडा र समग्र पालिकाबाट वन्यजन्तु सडक सुरक्षासम्बन्धि कार्यक्रम गर्नका लागि आगामी वर्षमा बजेट विनियोजन गर्न पहल गर्ने बताए।

बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले सडक दुर्घटनामा धेरै वन्यजन्तु पर्ने भएकाले, सवारी चालकलाई सचेत गराउनु पर्ने बताए । उनले राजमार्गमा चल्ने सवारी साधनको तीव्र गति नियन्त्रणसँगै समुदाय, विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रमहरूलाई निकुञ्जले प्राथमिकतामा राखेको पनि बताए ।

द रुफोर्ड ग्रान्टी, वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अनुसन्धानकर्ता मन्जुश्री ठाकुरले बाँके राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तु सडक सुरक्षाको वर्तमान तथा सवारी चालकसँगको प्रश्वावलीमा आएका नतिजा, क्यामेरा ट्रयाप र जनचेतनामूलक कार्यक्रमका बारेमा तयार पारिएको आफ्नो प्रस्तुति राखिन । त्यस्तै Zoologocial Society Of Londan (ZSL) मा कार्यरत, अनुसन्धानकर्ता कमल रेग्मीले पनि वन्यजन्तुको पनि बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रयास भएको बताउँदै आफ्नो प्रस्तुतीकरण राखेका थिए ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक दमन विक्रम सेनले सवारी चालकले सडक तथा बाटोमा राखिएका ट्राफिक संकेतहरू अनिवार्य हेरेर चलाउँदा सडक दुर्घटना निकै कम हुने बताए । त्यस्तै होटेल व्यवसायी तथा कोहलपुर नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष निरज चलाउनेले कोहलपुर या बाँकेका जुनसुकै ठाउँमा अध्ययनका लागि विश्वविद्यालय स्थापना गर्न सकेको भए अहिले वन्यजन्तु, वनसँग सम्बन्धित धेरै कुराको अनुसन्धानमा सघाउ पुग्ने बताए । उनले निकुञ्ज लगायतमा आउने बजेट पारदर्शी हुनको लागि बजेट विनियोजन भएको कुरा सबैले थाहा पाउनु अती जरुरी हुने आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रममा सहभागीका तर्फबाट अनुसन्धानकर्ता विष्णु पोखरेल, शिक्षक रामप्रसाद चापागाईं लगायतले आफ्नो सुझाव राखेका थिए । वातावरण तथा अध्ययन केन्द्रका अध्यक्ष प्रकाश चन्द्र अर्यालले आगामी दिनमा पनि वन्यजन्तु सडक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गर्न आफुहरू तयार रहेको बताए ।


ताजा समाचार