आन्दोलनमा सहभागी नहुने शिक्षकहरूमाथि निगरानी
काठमाडौँ। नेपाल शिक्षक महासंघले आन्दोलनमा सहभागी नहुने शिक्षकहरूमाथि निगरानी राखेको पाइएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन शिक्षकहरूलाई निर्देशन दिएका छन्। ‘आन्दोलनमा आउन बाँकी साथी आन्दोलनमा अनिवार्य जोडिनु होला। महासंघबाट निषेध गरिएका काममा संलग्न नहुनुहोला। जिल्ला जिल्लामा निरीक्षण अनुगमनमा गोप्यरूपमा साथीहरू खटिनु भएको छ,’ अध्यक्ष सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
शैक्षिक हड्ताल गरेको महासंघले माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्न, १२ कक्षाको परीक्षा सञ्चालनमा सहभागी नहुन, तालिम, गोष्ठीमा सहभागी नहुन शिक्षकहरूलाई भनेको छ। महासंघको नेतृत्वमा गत २० चैतदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।