प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ।
भेटपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो। दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ। यो आपसी विश्वासका लागि मेरो धन्यवाद।’
त्यस्तै बिमस्टेक सम्मेलनका क्रममा बैंककमा शुक्रबार ओलीसँग भेटवार्ता गरेका मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी गराएका हुन्। उनले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको पनि उल्लेख गरेका छन्। नेपाली भाषामै मोदीले लेखेका छन्, ‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल ग¥यौँ।’
उनले विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुराकानी भएको उल्लेख गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुईपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन्। सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन्। मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन्।
दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ। यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन। पछिल्लो जानकारी अनुसार छलफल पारस्परिक रूपमा लाभदायक भएको छ।
भारतीय पक्षले दिएको जानकारी अनुसार ओली मोदी भेटमा द्विपक्षीय सहयोग विशेष गरी विकास साझेदारी, ऊर्जा, जनता जनताबीचको सम्बन्ध र कनेक्टिभिटी लगायतका क्षेत्रहरूको बढावा गर्नमा केन्द्रित रहेको थियो। भेटवार्ता सकेर प्रधानमन्त्री ओली आफू बसेको होटल सांग्रिलामा फर्केका छन्। अब उनी नेपाली दूतावास अवलोकनमा जाने सचिवालयले बतायो।