च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारत ६ विकेटले विजयी

काठमाडौं। आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले चार विकेट गुमाएर ४५ बल बाँकी रहँदै भेट्टायो ।

भारतका लागि विराट कोहलीले शतक बनाए । १११ बलको सामना गरेका उनले ७ चौकाको मदतमा अविजित एक सय रन बनाए । त्यस्तै श्रेयस अय्यरले ५६, शुभमन गिलले ४६ रन बनाउँदा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले दुई तथा अबरार अहमद र खुशदिल शाहले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुनुअघि २४१ रन बनाएको थियो । उसका लागि साउद शकीलले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा
खुशदिल शाहले ३८ रन बनाए ।

भारतका लागि कुलदीप यादवले तीन, हार्दिक पाण्डेयले दुई विकेट लिए । त्यस्तै हर्षित राणा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।


ताजा समाचार