अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यानमार भिड्दै

काठमाडौँ। घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपाल र म्यानमार भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ। एक खेल अगावै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारका लागि आइतबारका लागि अभ्यास समेत हुनेछ।

म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो।

नेपालको दुवै जितमा फरक खेलाडीले गोल गरेका छन्। किर्गिस्तानविरुद्ध नेपालकी विमला चौधरीले गोल गरेकी थिइन्। लेवनानविरुद्ध सावित्रा भण्डारीको निर्णायक गोलमा नेपालले जित निकालेको थियो।

म्यानमारले भने पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो।

म्यानमार र नेपालका लागि यो खेल फाइनल अघिको अभ्यास समेत हुनेछ। तर नेपाली टोली आइतबारको खेलमा जित निकाल्दै फिफा वरियता सुधारको प्रयासमा हुनेछ।

यो खेलको हार जितको नतिजाले नेपालको उपाधि यात्रामा थप बल पुग्नेछ।


ताजा समाचार