अमेरिकाले नेपालीलाई नेल, हत्कडी लगाएर देश फर्काउँदैछ, सरकारको ध्यान जाओस् : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्किनेक्रम सुरु हुनसक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै पूर्व उपप्रधान तथा सहकारी गरिबी निवारणमन्त्री समेत रहेका केसीले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिर्पोट गर्न लागेको बताएका छन् । यसबारेमा सरकारको बेलैमा ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’