चीननजिकै अमेरिकाको सर्वाधिक लामो दूरीको मिसाइल तैनाथ
काठमाडौं। अमेरिकाले चीननजिकै हिन्द प्रशान्त क्षेत्रमा सर्वाधिक लामो दूरीको मिसाइल तैनाथ गरेको खुलासा भएको छ । चीन–अमेरिकाबीच हिन्द प्रशान्त क्षेत्रमा बढ्दो टकरावसँगै अमेरिकाले एआईएम-१७८ मिसाइल तैनाथ गरेको हो ।
यो अमेरिकाको सबैभन्दा लामो दूरीमा हावादेखि हावामा मार हान्न सक्ने हतियार हो । चीनको बढ्दो हवाई शक्तिको मुकाबिला गर्न अमेरिकाले यो क्षेत्रमा मिसाइल तैनाथ गरेको हो । अमेरिकाको यो तैनाथीसँगै हिन्द प्रशान्त क्षेत्रमा दुई देशबीच टकराव बढ्ने देखिएको छ ।
गत जुलाईमा नै तैनाथ गरिएको यो मिसाइलका माध्यमबाट अमेरिकाले आफ्नो हवाई शक्ति प्रदर्शन गर्न खोजेको देखिन्छ । यसले ४ सय किलोमिटरसम्म मार हान्न सक्छ, जुन चीनको पीएल(१५ को भन्दा बढी दूरी हो ।
चिनियाँ खतरा टार्न र चीनको नजिक रहेका एयरक्राफ्ट क्यारियरजस्ता अमेरिकी सम्पत्तिको रक्षा गर्न यसको तैनाथी आवश्यक भएको अमेरिकाको दाबी छ । पश्चिमा राष्ट्रले यस्तो क्षमता हासिल गर्न लामो संघर्ष गरेका छन् । अमेरिकी लडाकु विमानमा अहिलेसम्म १५० किलोमिटर टाढा मार हान्ने एआईएम(१२० थियो ।
यसै कारण अमेरिकी विमानहरूले विवादित स्थानमा जोखिमपूर्ण उडान गर्दै आएका थिए । ताइवान–चीन संघर्षमा अमेरिकी नौसेना चीनको नजिक पुग्दा चिनियाँ आक्रमणको निशाना बन्न सक्ने खतरा थियो । अब एआईएम १७४ बीले अमेरिकी लडाकु विमानमाथिको आक्रमणको जोखिम कम हुनेछ । किनकि अमेरिकाले यसबाट चिनियाँ जहाजको फायरिङ रेन्जभन्दा आफ्ना जेटहरूलाई बाहिर राख्न सक्छ भने ताइवानको क्षेत्रमा पुग्ने चिनियाँ लडाकु विमानलाई धम्की दिन सक्नेछ ।




