सप्तकोसीमा पानीको बहाव खतराउन्मुख
विराटनगर। सप्तकोसी नदीमा पानीको बहाव खतराको तह छुन लागेको छ। आइतबार दिउँसो १ बजेको मापन अनुसार कोशी ब्यारेजमा नदीको बहाव ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ। ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्छ, र त्यसभन्दा माथिल्लो तहमा पानीको सतह पुगेमा खतरा मानिने छ।
बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार क्युसेक पानी रहेको भए पनि ११ बजे उक्त बहाव बढेर ३ लाख ७५ हजार ९३० क्युसेक पुगेको थियो। पानीको बहाव बढेसँगै ब्यारेजका ५६ वटै ढोका खुलेका छन्। बिहान ७ बजेको मापन अनुसार पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो र ८ बजे बढेर ३ लाख ४९ हजार क्युसेक पुगेको थियो।
सुनसरीका प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीका अनुसार, पानीको बहाव बढेसँगै सप्तकोसी आसपासको क्षेत्रमा निगरानी बढाइएको छ।




