टी–२० विश्वकप : पाकिस्तान र आयरल्यान्डबिच भिडन्त

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच आइतबार भिडन्त हुँदैछ । उक्त खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ।

पाकिस्तान र आयरल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा भारत, आयोजक अमेरिका र क्यानडा पनि रहेका छन् । त्यो समूहबाट सात अङ्कसहित भारत पहिलो र पाँच अङ्कसहित अमेरिका दोस्रो हुँदै ‘सुपर–८’ चरणमा पुगिसकेका छन् ।

अन्य टोली भने उपाधि होडबाट बाहिरिएका छन् । तालिकामा क्यानडा तीन अङ्कसहित तेस्रो र पाकिस्तान दुई अङ्कसहित चौथो स्थानमा छन् । आयरल्यान्ड भने एक अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।

पाकिस्तान र आयरल्यान्डबिचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । घर फर्किने निश्चित भइसकेकाले आयरल्यान्ड र पाकिस्तानबिचको भिडन्तले समीकरणमा कुनै असर पार्ने छैन । त्यसैले यी दुई टोलीबिचको भिडन्तलाई प्रतिष्ठाको लडाइँका रूपमा लिन सकिन्छ ।

टी–२० विश्वकपको पूर्वविजेता समेत रहेको पाकिस्तानले जारी सिजनमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गर्‍यो । हुन त विश्वकप सुरु हुनुअघिदेखि नै पाकिस्तानी टोलीले निरन्तर खराब प्रदर्शन गर्दै आएको थियो ।

विश्वकप सुरु हुनुअघि खेलिएको इङ्ल्यान्डविरुद्धको टी–२० शृङ्खलामा पनि पाकिस्तानी टोलीको प्रदर्शन बिर्सनलायक थियो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीले पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकासँग लज्जास्पद हार बेहोरेको थियो । उक्त खेलमा पाकिस्तान सुपर ओभरमा पराजित भएको थियो ।

दोस्रो खेलमा पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग ६ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने पाकिस्तानले क्यानडालाई सात विकेटले हराएको थियो । अर्कोतिर, आयरल्यान्डको टोली आफ्नो पहिलो खेलमा भारतसँग आठ विकेटले हारेको थियो ।

दोस्रो खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गरेको थियो । आयोजक अमेरिका र आयरल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । आइतबारको खेलमा आयरल्यान्डलाई पराजित गरे पाकिस्तान चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लने छ ।

उक्त खेलमा पाकिस्तानलाई हराउन सके आयरल्यान्ड तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लने छ र पाकिस्तान पाँचौँ स्थानमा खस्कने छ । पछिल्लो आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान छैटौँ र आयरल्यान्ड ११औँ स्थानमा छन् ।


ताजा समाचार