टी-२० विश्वकप : नेपाल र साउथ अफ्रिका भिड्दै
काठमाडौं । टी-२० विश्वकप अन्तर्गत भोलि नेपालले साउथ अफ्रिकाविरुद्ध ‘गर वा मर’ को म्याच खेल्दैछ। सुपर ८ को सम्भावना कायम राख्न नेपाललाई जित्नैपर्ने बाध्यता छ।
साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको टीम हो। यसअघि तीनवटै म्याचमा लगातार जित हासिल गरेको शक्तिशाली टीमविरुद्ध नेपालले कठिन चुनौती सामना गर्नुपर्नेछ।
गुगलको भविष्यवाणी अनुसार नेपालको जित सम्भावना ७ प्रतिशत मात्र छ, जुन अप्रत्याशित होइन। तर, क्रिकेट अनिश्चितताको खेल हो र एसोसिएट्स टीमहरूले यस विश्वकपमा टेस्ट राष्ट्रलाई कठिन चुनौती दिइरहेका छन्। त्यसैले नेपालले खेल अगावै हार मानेको छैन।
नेपालले यसअघि साउथ अफ्रिकाको राष्ट्रिय टीमसँग कहिल्यै प्रतिस्पर्धा गरेको थिएन। विश्वकपकै एक दावेदारका रुपमा रहेको बलियो राष्ट्रसँग खेल्ने कुराले नेपाली समर्थकलाई रोमाञ्चित बनाएको छ। नतिजा जे आए पनि नेपालका लागि यो ऐतिहासिक अनुभव हुनेछ। टेस्ट राष्ट्रको फुल स्ट्रेन्थ टीमविरुद्ध खेल्न पाउनु नै नेपालको लागि दुर्लभ अवसर हो।
यसअघि श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द हुनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो। भोलिको म्याच भने वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुँदैछ, जहाँ वर्षातको भविष्यवाणी गरिएको छैन। नेपालले वेस्ट इन्डिजमा पहिलो म्याच खेल्न लागेको हो। भोलिको खेल किङ्सटाउनमा अवस्थित आर्नोस भेल मैदानमा हुनेछ।
समूह चरणमा नेपाल नेदरल्यान्ड्ससँग साँघुरो अन्तरले पराजित भएको थियो। श्रीलंकासँग खेल रद्द भएपछि नेपालले एक अंक पाएको हो। साउथ अफ्रिकाले भने नेदरल्यान्ड्स, बंगलादेश र श्रीलंकामाथि लगातार जित हासिल गरेको थियो। यद्यपि, श्रीलंका र बंगलादेशविरुद्धका जित संघर्षपूर्ण थिए।
साउथ अफ्रिकाको बलिङ लयमा छ, तर ब्याटिङ राम्ररी चल्न सकेको छैन। खासगरी टप अर्डर ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेका छैनन्।
तर, अहिलेसम्म तीनवटै खेल साउथ अफ्रिकाले न्यूयोर्कको स्लो पीचमा खेलेको थियो, जहाँ ब्याटिङ निकै चुनौतीपूर्ण साबित भएको छ। वेस्ट इन्डिजको पीचमा पक्कै पनि ब्याटिङ सहज हुने छ दुवै टीमका लागि।
हिजो बंगलादेश र नेदरल्यान्ड्सबीचको खेलले पनि यहाँ रन बन्न सक्छ भन्ने देखाएको छ। पहिलो ब्याटिङ गर्दै बंगलादेशले ५ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्स ८ विकेट क्षतिमा १३४ रन मात्र जोड्न सक्यो।
किङ्गसटाउनको पीचले ब्याट्सम्यान वा बलर कसलाई बढी सहयोग गर्छ भन्ने स्पष्ट छैन। खासमा यहाँ धेरै क्रिकेट नै भएको थिएन। सेन्ट भिन्सेन्टमा यसअघि दुईवटा मात्र टी-२० म्याच भएका छन्, त्यो पनि ११ वर्ष अगाडि। मैदानको अन साइडमा ५८ मिटर लामो बाउन्ड्री छ, जसलाई दुवै टीमका बिग हिटरहरूले सदुपयोग गर्न सक्छन्।
भोलिको म्याचमा दुवै टीमले प्लेइङ ११ मा ठूलो फेरबदल गर्ने सम्भावना छैन। साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको हुँदा आफ्नो बेञ्च स्ट्रेन्थ जाँच गर्ने अवसर त छ, तर क्रिक इन्फोका अनुसार आफ्ना मुख्य खेलाडीहरूलाई नै उतार्ने छ। कन्डिसनले माग गरे बलिङमा भने तलमाथि हुन सक्छ।
नेपाली टीममा सन्दीप लामिछाने समावेश हुने लगभग निश्चित छ। उनले सम्भवतः स्पिनर सागर ढकाललाई प्रतिस्थापन गर्नेछन्। सागरले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध किफायति बलिङ गरे तापनि विकेट लिन सकेका थिएनन्। सन्दीपको आगमनले नेपालको ब्याटिङ गहिराइ थप बढ्नेछ। उनी ९–१० नम्बरमा आएर पनि उपयोगी रन बनाउन सक्छन्।
भोलि नेपालको बलिङमा सबैको चासो र आशा सन्दीपमै रहनेछ। उनले आफ्नो उत्कृष्ट लय भेट्टाए भने राम्रा ब्याट्सम्यानहरूलाई पनि घुँडा टेकाउन सक्छन्। तर, लामो ग्यापपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन लागेकाले अलिकति संशय छ नै।
साउथ अफ्रिकाको फास्ट बलिङ नेपालका लागि सबैभन्दा ठूलो चुनौती हो। कंगिसो रवाडा, एनरिच नोर्ट्जे, ओर्टनील बार्टमनजस्ता फास्ट बलरहरूलाई सामना गर्न नेपाली ब्याट्सम्यानलाई पक्कै सहज हुने छैन। भोलिको म्याचमा नेपालको टप अर्डर चल्नु जरुरी छ। कुशल भुर्तेल र आसिफ शेखले राम्रो स्टार्ट दिएको खण्डमा नेपालसँग बलियो ब्याटिङ पंक्ति अवश्य छ।




