प्यालेस्टाइनीको आक्रमणपछि इजरायलमा युद्धको त्रासदी, नेपाली घाइते
काठमाडौं। प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’ ले आकस्मिक आक्रमण गरेपछि इजरायलमा युद्धको त्रासदी फैलिएको छ।
बामबारीमा केही नेपाली पनि घाइते भएका छन्। इजरायलको पामी तसहजमा रहेका केही नेपाली विद्यार्थी अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरुले आफू ११ जना नेपाली अहिले बंकरमा रहेको र बाहिर केही साथी घाइते भएको जानकारी गराएका छन्।
बर्दिया, लमजुङ, दाङ, पर्वत लगायत ठाउँका ११ जना विद्यार्थीहरुले सँगै रहेर अनलाइनखबरलाई बताएअनुसार बाहिर ठूलो ठूलो आवाज आइरहेको छ। बाहिर रहेका केहीले आफूहरको अवस्थाका बारेमा नेपाली दूतावासमासमेत जानकारी गराएको र ४ जनालाई प्रहरीले सुरक्षित ठाउँमा लगेको बताए ।
‘हामी ११ जना कम्पनीको बंगरभित्र छौं र कतिबेला के हुने हो भन्ने डर पनि उत्तिकै छ। घरपरिवारलाई यसबारे जानकारी दिन पनि सकिएको छैन । नेपाली दूतावासमा कल गरेर यसबारे जानकारी पनि गराएका छौं,’ हाम्रो सम्पर्कमा आएका एक विद्यार्थीले फेसबुक मेसेन्जर कलमार्फत त्यहाँ स्थिति बताउँदै भने, ‘बाहिरबाट साथीहरुले कल गरेर दर्दनाक भिडियो पठाएका छन्। केही गम्भीर अवस्थासमेत खुलाएका छन्। ४ जनालाई प्रहरीले सुरक्षित स्थानमा लगेको जानकारी पाएका छौं।’
आफूहरु कृषिमा इन्टर्न गरिरहेका विद्यार्थी भएको र नेपालमा चिनेजानेका सबैलाई सहयोगका लागि याचना गरेको पनि उनीहरुले बताए।




