दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा
काठमाडौं। नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन्।
प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो।
नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए। दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए।
उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन्। चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउदै विश्वकीर्तिमान रचेका छन्। उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेका हुन्।




