नेपालको असली परीक्षा भारतसँग

हान्झाउ। चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतसँग क्वाटरफाइनल खेल्दैछ।

यसअघि समूह चरणमा मंगोलिया र माल्दिभ्स जस्ता तुलनात्मक रुपमा कमजोर टिमलाई हराएर क्वाटरफाइनल पुगेको नेपालको असली परीक्षण भारतविरुद्धको खेलमा हुनेछ।

सोमबार भएको क्वाटरफाइनल ड्र अनुसार नेपालले भारत प्रतिद्वन्दी पाएको हो। भारतसहित किस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सिधै क्वाटरफाइनल पुगेका थिए भने नेपाल, हङकङ र मलेसिया समूह चरण पार गर्दै क्वाटरफाइनल पुगेका हुन्।

अब नेपाल र भारत, बंगलादेश र मलेसिया, श्रीलंका र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच खेल हुनेछ। नेपाल र भारत तथा बंगलादेश र मलेसियाबीच हुने खेलको विजेताले सेमिफाइनल खेल्नेछ।

कीर्तिमानी जितपछि असली परीक्षा

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई सहजै हराएको थियो। दुई खेलमा नेपालले खासै ठूलो संघर्ष गर्नुपरेन।

पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गर्दा कीर्तिमानको वर्षा गरेको थियो। जसमा कुशल मल्लले सबैभन्दा छिटो शतक र दीपेन्द्र सिंह ऐरीले सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए।

यस्तै नेपालले टी-२०आईमा एकै खेलमा सर्वाधिक ३१४ रनको स्कोर बनाएको थियो भने अहिलेसम्मकै फराकिलो जित/हार अन्तरको कीर्तिमान पनि बनाएको थियो। मंगोलियाले भने नेपाल विरुद्धको खेलबाटै टी-२०आईमा डेब्यु गरेको थियो।

दोस्रो खेलमा अभिनाश बोहराले टी-२०आईमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाउँदा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको थियो। नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा अलआउट गरेको थियो।

अब नकआउट चरणमा भने नेपालले बलियो टिमसँग खेल्नुपर्नेछ। नेपालका कप्तान रोहित पौडेलले आइतबार माल्दिभ्सलाई हराएपछि क्वाटरफाइनलका लागि उत्साह र चुनौती रहेको बताएका थिए।

‘हामी एकदमै उत्साहित छौं। चुनौती पनि छ । टी-२०मा जे पनि हुन्छ सक्छ। यो विकेट चुनौतीपूर्ण छ,’ उनले माल्दिभ्सलाई हराएपछि भनेका थिए, ‘हाम्रो बलिङ राम्रो छ। हामीले राम्रो ब्याटिङ गरे जुन सुकै टिमलाई चुनौती दिन सक्छौं। एकदमै उत्साहित छौं र खेलको लागि तयार छौं ।’

क्वाटरफाइनलका लागि तयार गर्न नेपालले माल्दिभ्स विरुद्ध ब्याटिङ अर्डरमा परिवर्तन गर्दै सबैलाई अवसर समेत दिएको थियो।

एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विनोद भण्डारीले वान डाउनमा खेलेका थिए भने त्यसपछि सन्दिप जोरा र गुल्शन झालाई अवसर दिइएको थियो । त्यसैले नेपालले माल्दिभ्स विरुद्ध टस जितेर ब्याटिङ गरेको थियो । ‘कठिन अवस्थामा सबैले ब्याटिङ पाउँदैनन्, क्वाटरफाइनलअघि सबैले ब्याटिङ गर्ने अवसर पाए,’ रोहितले भनेका थिए ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले पहिलो खेल खेल्दा नेपालसँग दुई खेल खेलिसकेको अनुभव हुनेछ । नेपाल मैदानको अवस्था र विकेटबारे जानकार छ । त्यसको फाइदा नेपाललाई पुग्ने कप्तान रोहितको विश्वास छ । ‘हामीले दुई खेल खेलिसकेका छौं र विकेटमा कसरी खेल्ने भनेर अनुभव छ । त्यो फाइदा हुनेछ ।’ तर ओभर एक्साइटेड नहुने र आफ्नो प्रोसेस अनुसार खेल्ने रोहितले बताएका थिए ।

भारत विरुद्ध पहिलो टी-२०आई

एक महिनाको अन्तरमा भारतसँगके यो दोस्रो खेल हुने भए पनि टी-२०आई क्रिकेट भने पहिलो हो। सेप्टेम्बर ४ मा नेपालले एसिया कपमा भारतसँग श्रीलंकाको क्यान्डीमा खेलेको थियो। जुन खेलमा उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सबैतिर प्रशंसा बटुलेको थियो।

त्यसको एक महिनापछि नेपालले फेरि भारतसँग अर्को फर्म्याटमा खेल्न लागेको हो। नेपालले ९ वर्षपछि टेष्ट राष्ट्रसँग टी-२०आई खेल्न लागेको पनि हो।

यसअघि नेपालले सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमा डेब्यु गर्दा बंगलादेशसँग खेलेको थियो। यद्यपी यस पटक भारतको पहिलो रोजाईँको टोली वान डे क्रिकेट खेल्ने तयारीमा रहेकोले भारतले दोस्रो रोजाईँको टिमलाई एसियाडमा पठाएको छ।

रुतुराज गाएकवाडको कप्तानीमा रहेको भारतीय टोलीमा इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका र सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरु समेत छन्।

ब्याटिङमा कप्तान रुतुराजसँगै यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा, प्रबसिमरन सिंह छन् भने लोहर अडरमा हार्ड हिटर रिंकु सिंह छन्। यस्तै शिवम दुवे, वासिङगटन सुन्दर र शहबाज अहमद छन्।

फास्टर बलिङमा अर्शदिप सिंहसँगै आभेष खान र मुकेश कुमार छन् भने स्पीनमा रवि बिश्नोई छन्। बिश्नोईलाई वासिङ्टन सुन्दर र शहबाज अहमदको साथ हुनेछ। विकेटकिपरद्वय प्रवशिमरन र जितेशसहित आकाश दिपले मात्र भारतका लागि डेब्यु गर्न बाँकी छ।


ताजा समाचार