सरकार र उखु किसानबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौँ। सरकार र उखु किसानबीचको वार्ता निष्कर्ष विहीन भएको छ।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए। संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो।

वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए। कृषि मन्त्रालयको बार्षिक बजेटमा नै २ अर्व रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए।

प्रवक्ता यादवले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे। उखु किसानको ७५ करोड निकासा गरिसकेको अवस्थामा दशैँ अघि नै अर्को ७५ करोड निकासा गर्नुपर्ने बटमलाइन रहेको बताए।


ताजा समाचार