हामीलाई बीआरआई र एमसीसी दुबै चाहिन्छ: डा.सुरेन्द्र पाण्डे

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति जनाएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको टिप्पणी गरे।

उनले छिमेकी मुलुकहरूको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै अनावश्यक विश्लेषणको आवश्यकता नरहेको पनि स्पष्ट पारे।

‘हामीले हाम्रा विश्लेषणहरूमा आफ्ना रियलिस्टिक र आफ्नो देशलाई कसरी हित हुन्छ भन्ने कुरा हेर्नुपर्छ। अहिले हामी कसको पैसा लिने र कसको नलिने भन्ने विषयमा डिमार्केट गर्नसक्छौँ?हुँदैन। हामीलाई बीआरआई पनि चाहिन्छ, एमसीसी पनि चाहिन्छ। सबै पैसा चाहिन्छ नि। सबै किसिमको सहयोगले मात्रै नेपाल बन्न सक्छ। एउटा लिने र एउटा नलिने भन्यौं भने माग्नेलाई तातो भात पाइन्छ,’ उनले भने।

नेपालले राष्ट्रहितको आधारमा कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भन्न नहुने स्पष्ट पार्दै उनले नेपालको विकास र समृद्धिको लागि एमसीसी र बिआरआई दुवै अपरिहार्य रहेको उनले भने।

‘म के कुरामा सहमत छैन भने एमसीसी परियोजना नेपालमा कार्यान्वयन हुँदा एमसीए अफिस यहाँ बस्दाखेरी अमेरिकी सैनिक अड्डा नेपालमा बस्छ। म त यसको कुनै तात्विक अर्थ नै देख्दिनँ। अहिलेसम्म बसिसके र नेपाल कोलोनाइज भइसकेको हुनपर्ने । खोइ त कहाँ छ स्टेसन?,’ पाण्डेले भने, ‘त्यो वनको बाघले भन्दा पनि मनको बाघले मन खाइरहेको म देख्छु । अमेरिकाले नेपाललाई घेरा हालिहरेको छ। हामी जोगाउन भनेर हिंडेका छौँ। के हामीले जोगाएर चीन जोगिने हो? चीन आफ्नै सामर्थ्यमा जोगिन सकेन भने हामीले जोगाएर चीन जोगिने हो र? अमेरिकालाई के नेपालबाट मात्रै चीनमा जानसक्ने परिस्थिति छ र?’


ताजा समाचार