प्रधानमन्त्री ओलीलाई वर्षमान पुको प्रश्न : दुई तिहाईको सरकारले संसद्मा बहुमत गुमाईसकेको हो र ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले समग्र अर्थतन्त्र सुधारको लागि सरकारको नीति र योजना के के छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर सेसनमा सांसद पुनले यस्तो प्रश्न गरेका हुन् ।

पुनले सरकारले संसद् छलेर अध्यादेश ल्याएर शासन गर्न खोजेकोमा दुई तिहाईको सरकारले संसदमा बहुमत गुमाईसकेको हो र ? भन्दै अर्को प्रश्नपनि तेर्साएका छन् । जवाफमा प्रधानमन्त्री ओलीले पुनका प्रश्नहरु रुचिकर रहेको भने ।

प्रधानमन्त्री ओलीले पुन नै अर्थमन्त्री भएको समय र त्यसयताको ७ महिनाको अवधिको मूल्यवृद्धिको अनुपात हेर्न सुझाए । उनले पुँजीगत खर्च कम भएको स्विकारे । तर, वर्षमान अर्थमन्त्री भएको तुलनामा अहिले पुँजीगत खर्च बढेको उनको दाबी छ । अर्थतन्त्रमा सुधार देखिएको प्रधानमन्त्री ओलीको दाबी छ ।

अघिल्लो सरकारले लिएको नीति र प्राथमिकतालाई अलग्गै राखेर अर्थतन्त्र सुधार भएन भन्न नहुने उनको तर्क छ । अहिलेको सरकारले उत्पादन बढाउनेमा जोड दिएको पनि उनले सुनाए । उनले अन्तर्राष्ट्रिय जगतले अहिले नेपाल लगानीयोग्य देश भनेर हेर्न थालेको पनि बताए । उनले बैंकको ब्याजदर पनि एकल अंकमा झरेको दाबी पेश गरे ।

पुनले विश्वविद्यालयमा लागु गरिएको मेरिटोक्रेसीको विषयमा पनि आपत्ति जनाए । शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भैरहेको छ त्यस्तो हुन्थ्यो र भन्दै उल्टै प्रश्न गरे । प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको नाममा हिजोको सरकारले बाहिर राम्रो पोशाक लगाउने र भित्र अर्के गर्ने काम गरेको आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारले मेरिटोक्रेसीको नाममा धिमे र पञ्चे बाजा बजाएर पहिलो हुनेलाई आउट र दोस्रो हुनेलाई इन गराएको पनि ओलीको आरोप छ ।


ताजा समाचार