सम्झौता थप नगर्ने क्यानको निर्णयपछि मोन्टीको भावुक सन्देश : यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो।

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइको सम्झौता थप नगर्ने भएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै क्यानले मोन्टीलाई धन्यवाद दिँदै अब सम्झौता नथप्ने निर्णय गरेको हो । देसाइलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ।

मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो।

क्यानले सम्झौता थप नगर्ने निर्णय लिएपछि भावुक बनेका मोन्टीले सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरेका छन् ।

यस्तो छ जाँदाजाँदै मोन्टीले लेखेको स्टाटस्को पूरारुप
प्यारो नेपाल
यो एउटा गुड बाइ होइन, हार्दिक धन्यवाद हो ।

१० जनवरी २०२३ मा मैले नेपाली क्रिकेटमा दिगो प्रभाव पार्ने आशामा उत्साह र उद्देश्यका साथ अज्ञातमा कदम चाल्दै नेपाल क्रिकेट एसोसिएसनसँगको अवसरलाई अँगालेँ । यी दुई वर्ष अविस्मरणीय रहे, जुन मनमोहक पलहरू र साझा कोशेढुंगाले भरिएको छ । टियू मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू कोही रुखमा चढेर त कोही छाता लिएर उभिएका थिए, र मुलपानीमा भएको विश्वकप छनोट जहाँ थामिनसक्नु भिड थियो, नेपालको जोश र लगावलाई प्रतिबिम्बित गर्थ्यो ।

यो यात्रामा आरोह अवरोहहरू थिए, र म क्यान व्यवस्थापन, छनोटकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्समेन, क्यामरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाएकोमा आभारी छु । प्रत्येकले आफ्नो तर्फबाट योगदान दिए र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्यांकन गर्छु ।

खेलाडीहरूका लागि

तिमीहरूले लाखौँको सपनाहरू बोकेका छौँ । मैदानमा अविचलित रहनु, एक–एक बल खेल्ने मानसिकता बनाउनु र बाउन्ड्रीहरु निकालिराख्नु । सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ‘हेप्पि ड्रेसिङ रुम’ को आदर्श सधैँ तिमीहरूको शक्ति हुने छ ।

सपोर्ट स्टाफहरूका लागि
पर्दा पछाडि तपाईँहरूको अथक प्रयास अमूल्य छ । मेरो चाहना हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थियो । मेरो साथमा उभिनुभएकोमा धन्यवाद ।

फ्यानहरूलाई
तपाईँहरूको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यो टोलीमा विश्वास राख्नुस् ।

क्यान म्यानेजमेन्टलाई
मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद । आधारशिला खडा भएको छ । एकताबद्ध रहनुस् र नेपाललाई गौरवान्वित राख्नुस् ।

नेपाली जनतालाई
नेपाल मेरो लागि घरभन्दा बाहिरको घर हो । यहाँ क्रिकेट कुनै खेलभन्दा बढी छ, यो एउटा भावना हो, जसले देशलाई एकजुट बनाउँछ ।

जय नेपाल


ताजा समाचार