अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिराखेको छ, अचम्मै भइराखेको छ : योगेश भट्टराई
काठमाडौँ। नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अध्यादेशको विरोध गर्ने पार्टीहरू दोहोरो मापदण्ड अपनाइरहेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विशेष गरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई इंगित गर्दै भने, “अध्यादेश मार्फत जन्मिएको पार्टी नै अहिले अध्यादेशको विरोध गरिरहेको छ। यो आश्चर्यजनक मात्र होइन, हास्यास्पदसमेत छ।” उनले थपे, “जसरी त्यो पार्टी अस्तित्वमा आयो, अब त्यही प्रकियालाई अस्वीकार गरिरहेको छ। यस्तो व्यवहार देख्दा नेपालको राजनीतिक परिदृश्य झनै अचम्म लाग्न थालेको छ।”
भट्टराईका अनुसार अध्यादेशको विरोध गर्ने वास्तविक हकदार प्रेम सुवाल र योगेन्द्र मण्डल मात्र हुन्, किनभने उनीहरू कहिल्यै सरकारमा सहभागी भएका छैनन्। उनले भने, “सरकारमा बसेका वा बसेका दलहरूले अध्यादेशको विरोध गर्नु नौटंकी जस्तै हो। किनभने तिनले कुनै न कुनै रूपमा अध्यादेशलाई स्वीकार गरेका छन्।”
त्यसैगरी, सहकारी ठगी प्रकरणबारे संसद्ले दिएको निर्देशनअनुसार छानबिन प्रक्रिया अगाडि बढिरहेको उनले उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सरकारमाथि प्रश्न उठाइरहेका सन्दर्भमा उनले शिशिर खनालले सही गरेको प्रतिवेदन सम्झिन आग्रह गरे। “सरकारलाई दोष लगाउनुको कुनै तुक छैन, किनकि छानबिन संसद्कै निर्णयअनुसार अघि बढिरहेको छ,” उनले भने।