कांग्रेस-एमालेसहितको सरकारले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ : योगेश भट्टराई

काठमाडौँ। नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनअपेक्षालाई प्राथमिकतामा राख्दै परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारलाई आम नागरिकका आशा र अपेक्षालाई सम्बोधन गर्दै उत्साहजनक उपलब्धिहरू हासिल गर्नुपर्नेमा जोड दिए।

नेता भट्टराईले हालै गठन भएको सरकारका केही सकारात्मक संकेत देखिएको बताए। उनका अनुसार, एमाले र कांग्रेस सहित विभिन्न दलहरूको सहभागिताले सरकारले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। उनले यो सरकार कुनै विशिष्ट राजनीतिक समूहको मात्रै नभई विविध क्षेत्र र समुदायको प्रतिनिधित्व गर्ने संरचना भएको दाबी गरे।

‘यो सरकार एमाले, कांग्रेस तथा अन्य दलहरूको सहभागितामा बनेको छ। यसमा मधेशकेन्द्रित राजनीति गर्ने नेताहरू समेत सहभागी छन्, जसले गर्दा सरकारलाई राष्ट्रिय चरित्र प्राप्त भएको छ। यसलाई केवल कुनै एक दलको सरकार भन्न सकिँदैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेको साढे छ महिनाको अवधिमा केही सकारात्मक पहलहरू भएको उनको धारणा छ। जटिल परिस्थितिमा सरकारको नेतृत्व सम्हाल्दै ओलीले वैदेशिक सम्बन्ध, अर्थतन्त्र सुधार, र पूर्वाधार विकासमा क्रमशः सुधार ल्याएको उनको भनाइ छ।

‘साढे छ महिना लामो समय होइन, तर हाम्रो परिस्थितिमा समयको ठूलो सुविधा छैन। हामीले छोटो अवधिमै महत्वपूर्ण उपलब्धिहरू हासिल गर्नुपर्छ। जनताको उत्साह वृद्धि गर्दै लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउनु, संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु, नागरिक जीवनमा सुधार ल्याउनु र आर्थिक समृद्धि हासिल गर्नु हाम्रो प्रमुख दायित्व हो,’ उनले उल्लेख गरे।

साथै, भट्टराईले अध्यादेश जारी गर्नु एक नियमित प्रक्रिया भएको बताए। उनले यसबारे अनावश्यक विवाद गर्नुको औचित्य नरहेको भन्दै विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पनि धेरै अध्यादेश ल्याएको स्मरण गराए। २०७८ सालमा अध्यादेशकै माध्यमबाट एमाले विभाजन गरिएको उदाहरण दिँदै उनले यस्तो प्रक्रियालाई अस्वाभाविक रूपमा नलिन सुझाव दिए।


ताजा समाचार