सुशासन, विकास र समृद्धिको बाटो शहीदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्नु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।

राष्ट्रपतिले वीर शहीदहरूले दिएको बलिदानको उच्च सम्मान गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै दिगो शान्ति, सुशासन, तथा आर्थिक विकासलाई अघि बढाउनु महत्त्वपूर्ण रहेको उल्लेख गरे।

उनका अनुसार, शहीदहरूले देखाएको मार्ग अनुसरण गर्दै हामी सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आवश्यक छ, जसका लागि शहीद दिवसले थप प्रेरणा प्रदान गर्नेछ।

‘शहीद दिवस, २०८१’ को अवसरमा राष्ट्रपति पौडेलले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सबै ज्ञात–अज्ञात वीर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

लोकतन्त्रको रक्षा, नागरिक स्वतन्त्रताको स्थापनाका लागि प्राण आहुति दिने वीर वीराङ्गनाहरूको सम्मानस्वरूप प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ।


ताजा समाचार