फिल्म ‘एक्टर टेक वन’ को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
काठमाडौं। काठमाडौं जिल्ला अदालतले भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वन’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको छ । अर्को चलचित्र ‘एक्टर’का निर्माताहरूले नाम जुधाएको भन्दै ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले दिएको रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले प्रदर्शन रोक्ने अल्पकालीन आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
राजन भुसालको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनिश भुसाल हुन् ।
यो चलचित्र बुधबारबाट प्रदर्शनमा आउने तय थियो भने अग्रिम टिकट पनि बिक्री भइसकेका थिए । चलचित्रले विभिन्न हलहरूमा १ सय ६० वटा शो पाइसकेको थियो ।





