खराब मौसमका कारण हङकङ-चीन उच्च गतिका रेल सेवा अवरुद्ध

काठमाडौं । वर्षाका कारण हङकङ र मुख्यभूमिबीचका केही उच्च गति रेल सेवा रद्द गरिएका छन्।

हङकङ र चीनको ग्वान्दोङ प्रान्तका केही भागमा भएको वर्षाका कारण आइतबार र सोमबारको सेवा रद्द गरिएको हो।

वर्षा बढी भएसँग हङकङ अब्जर्भेटरीले लगातार दुई बिहान एम्बर वर्षाको चेतावनी जारी गरेको थियो। सप्ताहन्तमा सहरमा बाढी आएको समेत रिपोर्ट गरिएको थियो।

‘न्युन चापको फराकिलो ट्रफले ग्वान्दोङको तटमा भारी वर्षा र चट्याङसहित आँधी आइरहेको छ,’ पूर्वानुमानकर्ताले भनेका छन्।

अब्जर्भेटरीले आइतबार बिहान ५:५० मा एम्बर वर्षाको संकेत जारी गरेर त्यसको पाँच घण्टापछि अर्थात् बिहान १०स्४० मा हटाएको थियो।

आजै बिहान, यातायात विभागले बाढीका चार वटा घटना रेकर्ड गरेको बताएको छ। ठूला छालका कारण समुद्र तटहरूमा रातो झन्डा चेतावनी पनि जारी गरिएको थियो।

यता चीनमा पनि मौसम बिग्रिएको छ। चिनियाँ राज्य सञ्चारमाध्यमले मुख्यभूमिको मध्य हुनान प्रान्तमा कम्तीमा ११ जनाको मृत्यु भएको बताएको छ।

मौसम बिग्रिएसँगै अधिकारीहरूले आइतबार हङकङदेखि सेन्जेन, सांघाई, चाओसान, सयामेन र फुझाउसम्मका १२ रेल सेवा रद्द गरेका छन्।

त्यस्तै, सोमबारका लागि डी ९०८ हाईस्पिड स्लिपर ट्रेनको हङकङ-सांघाई सेवा पनि रद्द गरिएको छ।

हङकङमा, अब्जर्भेटरीले शुक्रबारसम्म भारी वर्षा र चट्याङसहित आँधी चल्ने बताएको छ। एजेन्सी


ताजा समाचार