नेकपा विप्लवका बास्कोटामाथि १० आरोप

काठमाडौँ। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा बुधबार बिहान भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।

घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ। उक्त समूह नजिक रहेको इरातोखबर अनलाइनले पर्चाको पूर्ण विवरण छापेको छ।

विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्कातिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ।

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले।

२. २४ अर्बको स्याटेलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले।

३. १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरूपयोग गरेकाले।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा(सुविधाका नाममा करोडौं हिनामिना गरेकाले।

६. सरकारको प्रवक्ता पदको दुरूपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासीवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले।

८. राष्ट्र, जनता र क्रान्तिका विरूद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले।


ताजा समाचार