साना पार्टीमा रडाको: लोकतान्त्रिकरणका निम्ति या व्यक्तिगत टकराव ?

सरोज घिमिरे

काठमाडौँ । नेपाली राजनीतिमा नयाँ र वैकल्पिक भनिएका राजनीतिक समूहहरू यतिबेला ठूलो संटकको सामाना गरिरहेका छन् । मधेशको मुक्तिका निम्ति गठित हुन् या कम्युनिष्ट आन्दोलनको मुल प्रवाह बनाउने भनेर माधव नेपालले खालेको दल नै किन नहोस्, अहिले आन्तरिक तनावमा छन् ।

डा.सिके रावत, रेशम चौधरी, महन्त ठाकुर, प्रभु साह, सरिता गिरी, उपेन्द्र यादवहरूले खोेलेका राजनीतिक समूहको हरि बिजोग हेरिसक्नु छैन । यी नामधारी नेताहरूले खोलेका राजनीतिक समूहलाई मधेशका असली क्रान्तिकारी पार्टी भन्ने गरिन्थ्यो । तर, समय, तथ्य र प्रमाणले उनीहरूका पार्टीलाई नीजि कम्पनीका रूपमा उभ्यादियो । खासगरी पारिवारिक कहलमा अल्झिएका मधेश केन्द्रीत समूहहरू व्यक्तिगत उल्झनभन्दा बाहिर आउन सकेनन् ।

उपेन्द्र यादव एकबेला मधेशको मात्रै नभएर देशकै प्रधानका रूपमा हेर्न लायक नेताका रूपमा चर्चित थिए । उनले नेतृत्व गरेको पार्टी चोइटिदै र खिइदै आज अस्तित्व रक्षा कसरी गर्ने भन्ने ठाउँमा आएको देखिन्छ । दुई चार सिट संसदमा भएर मात्रै विद्रोह र विकल्पको सपना पूरा नहुने रहेछ भन्ने कुरा उनीहरूले हेक्का राखेको जस्तो पनि देखिदैन ।

यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक मिलन श्रेष्ठ भन्छन्, ‘साना पार्टीमा वैचारिक र सैद्धान्तिक परिपक्वता छैन । कतिपय साना पार्टीमा वैचारिक स्पष्टतासमेत देखिदैन । वैचारिक स्पष्टता र परिपक्वता नभएपछि पार्टी व्यक्तिमूखि बन्छन् । पार्टी सांगठनिक र सामुहिक मूल्यभन्दा पनि व्यक्तिमूखि बन्छन् । पार्टी अमुख व्यक्तिको तजबिजमा चल्न थालेपछि हुने यस्तै हो ।’

मधेश केन्द्रीत दलहरूको मात्रै सवाल होइन । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेले नेतृत्व गरिरहेको रास्वपाको पनि उस्तै हालत छ । अदालतमा विचारधिन रहेको मुद्धालाई प्रभावित पार्नेगरी विभिन्न अभियान चलाउने र मनलाग्दी अभिव्यक्ति दिन त्यो पार्टीका नेता कार्यकर्ता न्वारनको बल लगाएर लागेका देखिन्छन् । पूराना दलहरूलाई समेत मात दिनेगरी नयाँ भनिएको रास्वपाले गतिविधि गरिरहेको छ ।

सभापति लामिछानेले हिरासतमा बसेर रास्वपा हाकि रहेका छन् । साथै उनले अदालतमा विचाराधिन रहेको सहकारी गठी प्रकरणमा आफ्नो भागमा पर्ने विगो तिरेर जेल मुक्त हुन पाउ भनेर निवेदनसमेत दिएका थिए । तर, अदालतले लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ ।

सवाल साना पार्टीको मात्रै होइन, लोकतन्त्रको मसिया ठान्ने कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र पनि निक्कै दयनीय अवस्थामा छ । विचार, सिद्धान्त र समाजवादी कार्यक्रमसहित अघि बढिरहेको नेकपा (एकीकृत समाजवादी) भित्र चलिरहेको रडाको कम छैन । अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले पतञ्जली जग्गा प्रकणमा मुद्धा चलाएपछि उक्त पार्टीभित्र तनाव तीव्र बनेको छ । पार्टी नै विभाजनको डिलमा पुगेका विश्लेषण सुनिन थालेका छन् ।

एमालेबाट विद्रोह गर्नु नै गलत भयो कि ? विद्रोहको पुष्टि भएन भनेर पार्टीका सम्मानित नेता झलनाथ खनालले अभिव्यक्ति दिएपछि एस पार्टी अहिले भुसको आगोमा जलिरहेको छ । विद्रोहको पुष्टि भएन भन्ने वैचारिक सवाल उठाएका नेता खनाललाई अध्यक्ष नेपालले पार्टीबाट गए हुन्छ भनेपछि पार्टीभित्रको विवाद झन् चरम बनेको छ । अध्यक्ष नेपाल र नेता खनालसँगै पार्टीपंक्तिलाई विभाजित नहुन र सामाजिक सञ्जालमा जथाभावि नलेख्न, नबोल्न पार्टीको अनुशासन आयोगले निर्देशनसमेत दिनुपरेको छ । तर, नेताहरूले टेलिभिजन, सञ्चारकर्मी र भाषणमा पक्षविपक्षमा आफ्ना अभिव्यक्ति राखिरहेकै छन् ।

एस पार्टीका सन्दर्भमा प्राध्यापक श्रेष्ठको अलि भिन्न मत छ । उनी भन्छन्, ‘विचार र सिद्धान्तमा (एकीकृत समाजवादी) पार्टी अरू साना दलभन्दा भिन्न हो । तर, पार्टी सञ्चालन, सामूहिक प्राणाली, सांगठानिक विवाद जस्ता कुराहरू हेर्दा अरू सानाभन्दा धेरै फरक देखिएन । उक्त पार्टी पनि सिमित नेताको इशारामा चल्ने गरेको देखियो । वैचारिक र सैद्धान्तिक रूपमा एकतावद्ध भएको देखिएन । यसरी वैचारिक र सैद्धान्तिक रूपमा एकतावद्ध भएको पार्टीमा व्यक्तिगत स्वार्थ प्रधान बन्छ । नेता प्रधान बनिदिन्छन् ।’

सानादेखि ठूला पार्टीभित्रको आन्तरिक लोकतन्त्र मृतः प्राय छ । यसलाई बचाउने भन्दै पार्टीमा सिमित नेता कार्यकर्ताहरू बोल्छन् । तर, बहुमतको नाममा पार्टी नेतृत्वले पेलेर आफू अनुकुल निर्णय गर्छ । अहिले साना पार्टीमा देखिएको ठूलो रडाको आन्तरिक लोकतन्त्रलाई बचाउने भन्दा पनि व्यक्तिगत र गुटगत स्वार्थ प्रधान बनेको देखिन्छ ।


ताजा समाचार