आशिका तामाङ २० हजार धरौटीमा रिहा
काठमाडौँ । आपराधिक उपद्रवको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत, भक्तपुरले आदेश दिएको छ।
न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।
उनी माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा थिइन्।
उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्याएको र स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।
यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त, गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।