महिला टी–२० सिरिजको उद्घाटन खेलमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं। थाइल्याण्डसहितको महिला टी–२० आई त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र जोड्न सकेको थियो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ४५ बलमा तीन चौकासहित २८ रन जोडिन् । त्यस्तै कविता जोशीले २७ रन जोडिन् भने पुजा महतोले २४ रन जोडिन् ।

नेदरल्यान्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लान्जले २-२ विकेट लिए भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

रोबिन रिजकेले ४८ बलमा ८ चौका प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेल्दै ५९ रन बनाए । यसैबीच, आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालको बलिङतर्फ कविता कुँवर, पूजा महतो, सीता राना मगर र ईश्वरी विष्टले समान १-१ विकेट लिए ।


ताजा समाचार